२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

“शान्ति, सुरक्षा र नागरिक सेवा प्रवाहमा पाँचखालमा अन्तरक्रिया कार्यक्रम”


९०२३ पाठक संख्या
  • २०८२ चैत्र १६, सोमबार मा प्रकाशित ३ महिना अघि
  •  काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिकामा स्थानीय तहमा शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र पाँचखाल नगरपालिकाको समन्वयमा आयोजना गरिएको हो।

    कार्यक्रमको प्रमुख अतिथि पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार रहनुभएको थियो भने कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

    कार्यक्रममा प्र.जि.अ अधिकारीले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई प्रदान गर्ने विभिन्न सेवा र अधिकारबारे जानकारी गराउनु भयो। उहाँले भन्नुभयो, “कोही पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनुहुँदैन। नागरिकता प्राप्तिमा भोग्ने कठिनाइहरुलाई कानुन बमोजिम सहज बनाउने उद्देश्यले यो छलफल आयोजना गरिएको हो।” साथै, शान्ति सुरक्षाको अवस्थाबारे स्थानीय तह र जिल्ला प्रशासनले खेल्नुपर्ने भूमिकाबारे पनि धारणा राख्नुभयो।

    कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगरका जनप्रतिनिधिहरुलाई कानुन अनुसार सहज कार्य गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो कि दुर्घटनाको घटनाहरु धेरै हुने भएकाले स्थानीय तह र प्रहरीबीचको समन्वयमा कार्य भइरहेको छ। साथै, नगरपालिकाले प्रदान गर्ने सेवाहरुलाई छिटो, सहज र प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।

    पाँचखाल प्रहरी चौकी इञ्चार्ज प्रहरी निरीक्षक प्रशान्त तमाङले लागु औषधसम्बन्धी सञ्चालन र कारबाहीको विवरण प्रस्तुत गर्दै, सडक दुर्घटनाका मुख्य कारणमध्ये एक लागु पदार्थको सेवन रहेको बताउनुभयो। उहाँले चालकले लागु पदार्थ सेवन गरेको चेकजाँचका लागि आवश्यक किटको अभावमा समस्या आएको र सो किट उपलब्ध भए दुर्घटना न्यूनिकरणमा सहज हुने भएकाले नगरपालिकाबाट किट उपलब्ध गराउन अनुरोध गर्नुभयो।

    कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो। वडाध्यक्षहरुले नागरिकता सिफारिसमा भोगिरहेको समस्या र अन्य सेवासम्बन्धी चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभयो।

    यस अन्तरक्रिया कार्यक्रममा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ पार्ने, अपराध नियन्त्रणमा सहकार्य बढाउने तथा नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्ने प्रयासलाई केन्द्रमा राखिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार