काभ्रेपलाञ्चोक — निरन्तर वर्षासँगै आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। रोशी खोलामा पानीको सतह अत्यधिक बढेपछि सडक संरचनामा क्षति पुग्ने जोखिम देखिएकाले सुरक्षालाई प्राथमिकता दिँदै सम्बन्धित निकायले तत्कालका लागि आवागमन रोकेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न स्थानमा निर्माण गरिएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ। विशेषगरी चौकीडाँडा–नेपालथोक खण्डमा करिब चार किलोमिटर सडक संरचना क्षतिग्रस्त भएपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको हो।
बाढी र वर्षाका कारण सडकमा थप कटान, पहिरो तथा दुर्घटनाको जोखिम बढेपछि सुरक्षा निकायले सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्राविधिकहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासीको समन्वयमा क्षतिग्रस्त सडक मर्मत तथा अस्थायी मार्ग निर्माण गर्ने प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको जनाइएको छ। उक्त घटनाले राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन्।
प्रहरीले सडकको अवस्थाबारे जानकारी लिन १०० (नेपाल प्रहरी) र १०३ (ट्राफिक प्रहरी) मा सम्पर्क गर्न अनुरोध गरेको छ। यसैबीच, पानीको सतह घटेपछि अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन पुनः सुरु गर्ने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस