चितवन। मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई झुक्क्याउने तथा ठगी गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पछिल्लो समय मालपोत कार्यालय परिसरभित्र अनधिकृत व्यक्तिहरूको चलखेल बढ्दै गएको र उनीहरूले सेवाग्राहीलाई विभिन्न बहानामा भ्रममा पारेर आर्थिक लाभ लिन खोजेको गुनासो बढेपछि सुरक्षामा कडाइ गरिएको हो। सेवाग्राहीको भीड हुने यस्ता सरकारी कार्यालयहरूमा केही व्यक्तिहरूले आफूलाई बिचौलिया वा कर्मचारीको नजिकको व्यक्ति भन्दै सेवाग्राहीलाई प्रभावित पार्ने र अनावश्यक रकम असुल्ने गरेको उजुरी आएपछि प्रशासन सतर्क बनेको बताइएको छ।
यसै सन्दर्भमा मालपोत कार्यालयले एक सूचना जारी गर्दै अबदेखि अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ। कार्यालयका अनुसार अब सेवा लिन आउने वास्तविक सेवाग्राही तथा कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइनेछ।
कार्यालयले सेवासम्बन्धी सम्पूर्ण काम कारबाही सम्बन्धित व्यक्तिले पेस गरेको निवेदन र कानुनी रूपमा दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेस गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने जनाएको छ। यस व्यवस्थाले सेवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने विश्वास कार्यालयको छ।
त्यसैगरी, भू–सेवा सञ्चालकहरूले कार्यालयमा प्रवेश गर्दा अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्रबिना प्रवेश गर्न नदिइने र नियम उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न, कसैको प्रलोभनमा नपर्न र सरकारी शुल्कबाहेक अतिरिक्त रकम नतिर्न आग्रह गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।
यस कदमले मालपोत कार्यालयभित्र हुने अनियमितता, ठगी तथा बिचौलियाको प्रभाव नियन्त्रणमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा सेवाग्राहीहरूले पनि कार्यालयको यस पहललाई सकारात्मक रूपमा लिएका छन् र पारदर्शी सेवा प्रवाहका लागि यस्ता कडाइ आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस