२१ चैत, काठमाडौं – नेपाली कांग्रेसले आज (शनिबार) बाट आफ्नो १५ औँ महाधिवेशनको तयारी प्रक्रिया सुरु गरेको छ। पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक कार्यतालिका पारित गरेको थियो।
प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज १६–१९ मा १५ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै विस्तृत कार्यक्रम तयार गरेको थियो।
कार्यतालिकाअनुसार, २१ चैतदेखि वैशाख मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडातहसम्म वितरण गरिनेछ। यसका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू खटाइने व्यवस्था गरिएको छ। आज दिउँसो २ बजे सानेपामा आयोजित ‘आरेन्टेसन’ कार्यक्रममा देशभर खटिने प्रतिनिधिहरूलाई तयारी र जिम्मेवारीबारे जानकारी दिइएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रतिनिधिहरूको नाम सार्वजनिक गर्ने प्रक्रियाबारे जानकारी दिँदै भने, “आज २ बजे ‘आरेन्टेसन’ कार्यक्रम छ। त्यसपछि प्रतिनिधिहरूको नाम विज्ञप्तिमार्फत् सार्वजनिक गरिनेछ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटिने व्यवस्था छ।”
महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन गर्ने योजना बनाएको छ। सदस्यता अद्यावधिक अभियान एक महिनासम्म सञ्चालन हुनेछ।
अभियानपछि वडाहरूले १५ जेठभित्र प्रतिनिधिसभा क्षेत्र र जिल्लामा क्रियाशील सदस्यताको विवरण पठाइसक्नुपर्नेछ। त्यसपछि क्षेत्र र जिल्ला तहले सदस्यता विवरण ‘इन्ट्री’ गरी २५ जेठभित्र केन्द्रमा बुझाउने व्यवस्था छ।
केन्द्रले प्राप्त सदस्यताको आवश्यक छानबिन गरी अन्तिम टुंगो १५ असारभित्र गर्ने निर्णय गरेको छ। त्यस्तै, असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यतालिका तय गरिएको छ।
नेपाली कांग्रेसले यस महाधिवेशनमार्फत पार्टीको संरचना सुदृढ गर्दै देशव्यापी सदस्यता व्यवस्थापनमा पारदर्शिता र समावेशिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस