२६ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति कार्यालयले नयाँ कार्यविभाजन सम्बन्धी सूचना जारी गरेको हो ।
प्रधानमन्त्री बालेनले बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका थिए । साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लागेपछि उक्त कदम चालिएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले श्रममन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
उक्त सिफारिसलाई आधार मान्दै प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गर्ने निर्णय गरी त्यसको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा पठाएका थिए । सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी थपिएको छ । उनले रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
यसबीच सरकारका अन्य १३ मन्त्री भने यथावत् आफ्नै जिम्मेवारीमा कायम राखिएका छन् । सरकारभित्र सुशासन र जिम्मेवारी वहनको विषयलाई लिएर आएको यो निर्णयलाई राजनीतिक रूपमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । साथै, सार्वजनिक पदको दुरुपयोगविरुद्ध कडाइ गर्ने संकेतका रूपमा पनि यसको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस