काठमाडौँ । नेपाल प्रहरीले देशव्यापी रूपमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई अझ सशक्त बनाएको छ। पछिल्लो दुई दिन (शुक्रबार र शनिबार) मात्र देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुली जिल्लाका विभिन्न नाका, बजार तथा आवतजावत हुने स्थानहरूमा विशेष निगरानी र चेकजाँच तीव्र पारिएको थियो। सोही क्रममा ब्राउनसुगर, खैरो हेरोइन, चरेस तथा डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिनजस्ता नियन्त्रित औषध बरामद गरिएको हो।
लागूऔषध ओसारपसारको मुख्य ट्रान्जिट क्षेत्र मानिने झापाबाट मात्रै नौ जना पक्राउ परेका छन्। बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय हरिप्रसाद ढकाल पक्राउ परेका छन्।
अर्जुनधारा नगरपालिका–५ कैलाशघाटबाट २४ वर्षीय सागर दर्जी तथा बिर्तामोड नगरपालिका–४ बाट २८ वर्षीय सागर रसाइलीसहित चार जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ।
यस्तै, मेचीनगर–६ को पुरानो मेचीपुल र गैरीगाउँबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
सीमावर्ती क्षेत्र सुदूरपश्चिममा पनि प्रहरीले निगरानी कडा बनाएको छ। कैलालीको टीकापुर–९ खक्रौलाबाट भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट चरेससहित पाँच जना पक्राउ परेका छन्।
बर्दियाको बाँसगढी र कञ्चनपुरको बेलौरीबाट समेत खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्, जसले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार सक्रिय रहेको संकेत गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा चेकजाँचका क्रममा झापाबाट काठमाडौँतर्फ आउँदै गरेको सवारीसाधनबाट ३३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। यो यस अवधिको सबैभन्दा ठूलो बरामदमध्ये एक हो।
उदयपुरको त्रियुगा नगरपालिका–६ बाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनजस्ता नियन्त्रित औषधसहित दुई जना पक्राउ परेका छन्।
त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–९ बाट १०० ट्याब्लेट नाइट्रोजेपामसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध ओसारपसार तथा बिक्रीवितरणसम्बन्धी कानुनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, पछिल्ला दिनहरूमा देशभर लागूऔषध नियन्त्रणका लागि ‘स्वीप अपरेशन’ सञ्चालन भइरहेका छन्, जसअन्तर्गत हजारौँ व्यक्तिहरू पक्राउ परिरहेका छन्।
प्रहरीका अनुसार सीमावर्ती नाका, राजमार्ग तथा सहरी क्षेत्रमा निगरानी अझ कडा पार्दै लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस