२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

गाउंपालिका अध्यक्षलाई प्रहरीले झ्याप


५३५७ पाठक संख्या
  • २०८३ बैशाख २८, सोमबार मा प्रकाशित २ महिना अघि
  • सुर्खेत । दैलेख स्थित भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार अध्यक्ष शाहीविरुद्ध चेक बाउन्ससम्बन्धी उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । प्रहरीले दिएको जानकारीअनुसार शाहीले एक स्थानीय व्यक्तिलाई दिएको ५ लाख रुपैयाँ बराबरको चेक बैंकबाट सटही हुन नसकेपछि उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

    प्रहरीले पक्राउपछि अध्यक्ष शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका लागि अदालतबाट म्याद थपसमेत भइसकेको प्रहरीको भनाइ छ ।

    बैंकिङ कसुरसम्बन्धी घटनामा चेक जारी गर्ने व्यक्तिले खातामा पर्याप्त रकम नराख्दा वा विभिन्न कारणले चेक भुक्तानी हुन नसकेमा कानुनी कारबाहीको व्यवस्था रहेको छ । पछिल्लो समय चेक बाउन्ससम्बन्धी मुद्दा देशभर बढ्दै गइरहेका बेला जनप्रतिनिधिसमेत यस्ता विवादमा तानिन थालेका छन् ।

    रिताकुमारी शाही नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी पक्राउ परेपछि स्थानीय तहको राजनीतिक वृत्तमा समेत चर्चा सुरु भएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार