२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पृथ्वी राजमार्गमा मध्यराति भीषण दुर्घटना : तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते


२८६१ पाठक संख्या
  • २०८३ बैशाख २९, मंगलबार मा प्रकाशित २ महिना अघि
  • २९ वैशाख, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा गएराति भएको भीषण सवारी दुर्घटनामा ३७ जना घाइते भएका छन् । तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा यात्रुहरू घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना गएराति करिब साढे ११ बजे भएको हो । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिएको थियो । प्रारम्भिक ठक्करपछि सोही बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिँदा तीनवटै सवारी साधन सडकमा एकापसमा जुधेका थिए ।

    दुर्घटनापछि केही समय पृथ्वी राजमार्ग क्षेत्रमा अफरातफरीको अवस्था सिर्जना भएको थियो । रातिको समय भएकाले उद्धार कार्यमा सुरुआती कठिनाइ भए पनि प्रहरी, स्थानीयवासी र स्वास्थ्यकर्मीको सहयोगमा घाइते यात्रुहरूको तत्काल उद्धार गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहाल का अनुसार तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको र अधिकांशलाई टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

    दुर्घटनालगत्तै घाइतेहरूलाई नजिकैको बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारका लागि लगिएको थियो । सामान्य अवस्थामा रहेका तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये १९ जनालाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर मा पठाइएको छ भने ९ जनाको त्रिवि शिक्षण अस्पताल मा उपचार भइरहेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचाररत थप ६ जनालाई पनि पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

    दुर्घटनापछि केही समय पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो । दुर्घटनाग्रस्त सवारी साधनलाई सडकबाट हटाएपछि यातायात सञ्चालन सामान्य बनाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले दुर्घटनामा संलग्न दुवै बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति र असावधानीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

    पृथ्वी राजमार्गमा पछिल्लो समय बढ्दो सवारी चाप, तीव्र गति र रातिको यात्राका कारण दुर्घटनाका घटना बढ्दै गएका छन् । स्थानीयवासीले विशेषगरी रातिको समयमा सवारी साधनको गति नियन्त्रण र सडक सुरक्षामा थप कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार