
काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरी डर–धम्की दिई आर्थिक लाभ लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालमा पीडितको फोटो तथा भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिई लगातार हैरानी गर्ने र रकम असुल गर्ने गतिविधिमा संलग्न रहेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।
प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ स्थायी ठेगाना भएका २३ वर्षीय समीर तामाङलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
उनीलाई २०८३ वैशाख ३० गते काठमाडौंको कलंकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशीलता अपनाउन तथा यस्ता आपराधिक गतिविधिबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस