२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

महाभारतमा कफी क्रान्ति : कृषकलाई जोड्दै समृद्धितर्फको अभियान अघि बढ्यो


३५८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम तथा पहाडी भूगोलमा अवस्थित महाभारत गाउँपालिकाले ‘कफी उत्पादनमार्फत समृद्धि, समृद्ध महाभारत निर्माण’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै कफी खेती विस्तारको महाअभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा पालिकाभित्र कफी उत्पादनलाई व्यावसायिक र दीगो आर्थिक आधारका रूपमा विकास गर्ने उद्देश्यसहित ठूला कार्यक्रमहरू कार्यान्वयन भइरहेका छन्।

    गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार यस आर्थिक वर्षभित्र पालिकाभर १ लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोप्ने लक्ष्य निर्धारण गरिएको छ। उहाँका अनुसार स्थानीय कृषकलाई परम्परागत खेती प्रणालीबाट व्यावसायिक कफी उत्पादनतर्फ आकर्षित गर्दै आयआर्जन वृद्धि गर्ने उद्देश्यले बहुआयामिक कार्यक्रमहरू सञ्चालनमा ल्याइएको हो।

    कफी विस्तारका बहुआयामिक कार्यक्रमहरू

    महाभारत गाउँपालिकाले कफी खेती विस्तारलाई केवल रोपाइँमा सीमित नराखी उत्पादन, प्रवर्द्धन र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाएको छ। यसअन्तर्गत निम्न प्रमुख कार्यक्रमहरू सञ्चालनमा छन्।

    १. ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ कार्यक्रम

    कृषकलाई कफी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत ३० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ। हालसम्म वडा नं. १, ६ र ७ मा बिरुवा वितरण भइसकेको छ भने बाँकी वडामा समेत छिट्टै वितरण तथा रोपाइँ कार्य विस्तार गरिने गाउँपालिकाले जनाएको छ। यस कार्यक्रमलाई कृषक प्रोत्साहन र सहभागिता वृद्धि गर्ने महत्वपूर्ण अभियानका रूपमा लिइएको छ।

    २. एक वडा एक कृषि उत्पादन (कफी खेती) कार्यक्रम

    व्यावसायिक उत्पादन केन्द्रित यस कार्यक्रमअन्तर्गत वडा नं. ५ लाई प्रमुख कफी उत्पादन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। हालसम्म उक्त वडामा मात्रै करिब ३२ हजार कफीका बिरुवा रोपिसकिएको छ, जसले वडास्तरीय उत्पादन संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    ३. ब्लक विकास कार्यक्रम

    कफी उत्पादनलाई व्यावसायिक, व्यवस्थित र गुणस्तरीय बनाउन सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत वडा नं. २ र ३ मा १७ हजार बिरुवा रोपिसकिएको छ। ब्लक प्रणालीमार्फत उत्पादन व्यवस्थापन, गुणस्तर सुधार र बजार पहुँच विस्तार गर्ने उद्देश्य लिइएको छ।

    ४. कफी प्रवर्द्धन कार्यक्रम

    हाल कार्यान्वयन चरणमा रहेको यस कार्यक्रममार्फत थप करिब ३५ हजार बिरुवा रोप्ने तयारी गरिएको छ। यस कार्यक्रमसँगै चालु आर्थिक वर्षभित्र कुल लक्ष्य पूरा गर्दै कफी उत्पादन विस्तारलाई राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको छ।

    पूर्वाधार तथा प्रविधिमा जोड

    गाउँपालिकाले कफी खेतीलाई दीगो र आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्न पूर्वाधार तथा प्रविधिगत सहयोगमा पनि विशेष ध्यान दिएको छ। अध्यक्ष जिम्बाका अनुसार साना सिँचाइ आयोजना, आधुनिक कृषि औजार वितरण, कफी सुकाउने घर (ड्राइङ हाउस) निर्माण, मल्चिङ तथा थोपा सिँचाइ प्रणालीसहित कफी बगैँचा स्थापना गरिएको छ।

    त्यसैगरी स्थानीय स्तरमै कफी नर्सरी स्थापना, छहारीका लागि बिरुवा वितरण, कृषकहरूलाई स्थलगत तालिम, प्राविधिक सहयोग तथा अध्ययन अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू पनि निरन्तर सञ्चालनमा छन्। यी प्रयासहरूले उत्पादन मात्र होइन, गुणस्तर र बजार पहुँच सुधारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    आर्थिक रूपान्तरणतर्फ महाभारत

    कफी खेती विस्तार अभियानले महाभारत गाउँपालिकाको कृषि संरचनामा नयाँ रूपान्तरण ल्याउने विश्वास गरिएको छ। परम्परागत निर्वाहमुखी कृषिबाट व्यावसायिक तथा नगदे बालीतर्फको रूपान्तरणसँगै स्थानीय युवाहरूलाई रोजगारी, आयआर्जन वृद्धि तथा वैदेशिक रोजगारी निर्भरता घटाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    गाउँपालिकाले अघि सारेको यो कफी क्रान्ति दीर्घकालीन रूपमा ‘समृद्ध महाभारत’ को आधारस्तम्भ बन्ने स्थानीय तहको विश्वास छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार