२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

नेपाल इन्जिनियरिङ कलेज र भायोनेटबीच सहकार्य, विद्यार्थीलाई उद्योगसँग जोड्ने पहल


२४९७ पाठक संख्या
  • २०८३ जेष्ठ ६, बुधबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजभायोनेट कम्युनिकेशन लिमिटेड बीच दुरसञ्चार तथा सूचना प्रविधि (आईटी) विषय अध्ययनरत विद्यार्थीलाई शिक्षा र उद्योगसँग जोड्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ ।

    भक्तपुरको चाँगुनारायणस्थित कलेजमा आयोजित कार्यक्रममा मुनाफारहित सामाजिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि, व्यावसायिक सीप विकास तथा रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यसहित नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था भायोनेटसँग सहकार्य अघि बढाएको जनाएको छ ।

    समझदारीपत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह तथा भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स म्यानेजर रञ्जु लामा ले हस्ताक्षर गर्नुभएको थियो ।

    एमओयूअनुसार कलेजमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष सम्पर्क गराउने, व्यावहारिक सीप अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गर्ने तथा दुरसञ्चार र आईटी क्षेत्रमा करियर प्लेसमेन्टका अवसर उपलब्ध गराउने योजना अघि सारिएको छ । यस सहकार्यले विद्यार्थीको सिकाइलाई व्यवहारिक र रोजगारमुखी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

    कार्यक्रममा प्राचार्य भण्डारीले भायोनेटसँगको साझेदारीले शिक्षा र उद्योगबीचको दूरी कम गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षण अनुभव हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भविष्यका लागि दक्ष, सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा यस्ता सहकार्य प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

    कलेजले विद्यार्थीलाई अध्ययनकालदेखि नै उद्योग तथा व्यवसायिक क्षेत्रसँग जोड्न विभिन्न संस्था र उद्योगसँग सहकार्य गर्दै आएको जनाएको छ ।

    पोखरा विश्वविद्यालय को सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङका विभिन्न विधामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन हुँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार