काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या र मानसिक स्वास्थ्यसम्बन्धी बढ्दो चुनौतीलाई मध्यनजर गर्दै सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले जिम्मेवार सञ्चार अभ्यासमार्फत आत्महत्या न्यूनीकरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय धुलिखेलद्वारा आयोजित “मिडिया अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम” मा सहभागी पत्रकारहरूले आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा जनचेतना अभिवृद्धि र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्की अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणसम्बन्धी प्रस्तुति दिँदै डा. उर्मीला पौडेलले मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा लुकाएर राख्ने प्रवृत्ति कायम रहेकाले समयमै परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मानसिक समस्यालाई सामान्य स्वास्थ्य समस्याकै रूपमा स्वीकार गरी परिवार, विद्यालय र समुदायस्तरबाट सहयोगी वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आत्महत्याका घटनालाई अतिरञ्जित, भावनात्मक वा विस्तृत विवरणसहित प्रस्तुत गर्दा समाजमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले पत्रकारहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । घटनाको तरिका, स्थान वा तस्बिरलाई अत्यधिक प्रचार गर्दा विशेषगरी बालबालिका र किशोर–किशोरीमा ‘कपीक्याट इफेक्ट’ अर्थात् नकारात्मक सिको पर्ने जोखिम बढ्ने भएकाले अब त्यसप्रकारका सामग्री प्रकाशन–प्रसारणमा सचेत रहेको पत्रकारहरूको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेले काभ्रेका सञ्चारकर्मीहरूले पछिल्ला वर्षहरूमा जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्दै समाजलाई सकारात्मक सन्देश दिने समाचारलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले समाजलाई सचेत बनाउने, समस्या उजागर गर्ने र समाधानतर्फ प्रेरित गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनालाई न्यूनीकरण गर्न स्वास्थ्य संस्था, सञ्चारमाध्यम, परिवार र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा देखिने तनाव, पारिवारिक विखण्डन तथा सामाजिक दबाबका कारण मानसिक समस्या बढ्दै गएकाले सामूहिक प्रयासबाट मात्रै समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय तहदेखि नै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरूसँग मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया सुरु गरिएको छ । बढ्दो स्क्रिन टाइम, सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा पारिवारिक संवादको कमीले किशोर–किशोरीमा मानसिक दबाब बढाइरहेको भन्दै अभिभावक र शिक्षकलाई समेत सचेत हुन आग्रह गरिएको थियो ।
विज्ञहरूले मानसिक समस्या लुकाउने होइन, समयमै उपचार गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिएका थिए । डिप्रेसन वा मानसिक तनावमा रहेका व्यक्तिलाई परिवार र समाजले साथ दिन सके धेरै दुःखद घटनाहरू रोक्न सकिने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले काभ्रेको पत्रकारिता पछिल्लो समय जिम्मेवार र रचनात्मक बन्दै गएको उल्लेख गर्दै यसलाई अन्य जिल्लाका लागि समेत उदाहरणीय अभ्यासका रूपमा लिन सकिने बताएका थिए । सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबीचको सहकार्यले मात्रै मानसिक रूपमा स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिने निष्कर्ष कार्यक्रमले निकालेको थियो ।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण विषय हो । यदि तपाईं वा तपाईंको वरपर कोही लामो समयदेखि तनाव, एक्लोपन वा मानसिक दबाबमा हुनुहुन्छ भने लुकाउनुको सट्टा परिवार, साथीभाइ वा विशेषज्ञसँग खुला रूपमा कुरा गर्नुहोस् । समयमै गरिएको सल्लाह, उपचार र परिवारको साथले कसैको अमूल्य जीवन बचाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस