काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोक जिल्लाको पनाैती मा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनाैती सेवा कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा ३० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा युवायुवती, समाजसेवी, सहकारीकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै उत्साहपूर्वक रक्तदान गरेका थिए।
रक्त अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था भइरहेका बेला आयोजना गरिएको यस कार्यक्रमले समुदायमा मानवताको भावना थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममार्फत नियमित रक्तदानप्रति जनचेतना फैलाउनुका साथै स्वस्थ व्यक्तिलाई रक्तदानका लागि प्रेरित गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
सेवा कार्यालयका संयोजक रमेश जंगमले कार्यक्रममा ३० जनाले रक्तदान गरेको जानकारी दिँदै यस्ता सामाजिक तथा मानवीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहकारी संस्था सधैं सामाजिक सेवामा सक्रिय रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले रक्तदान सबैभन्दा ठूलो मानव सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले प्रत्येक केही महिनामा नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले एक व्यक्तिको सानो योगदानले अर्को व्यक्तिको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको धारणा राखेका थिए।
रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई आयोजक संस्थाको तर्फबाट सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको यस्तो कार्यक्रम उदाहरणीय भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, स्वयंसेवक, सहभागी तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस