२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सरकारी कर्मचारीलाई राहत: तलब २१% वृद्धि, प्रोत्साहन भत्ता सहित नयाँ बजेट घोषणा


४१६१ पाठक संख्या
  • २०८३ जेष्ठ १५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले कर्मचारीको क्रयशक्ति संरक्षण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन तलब संरचनामा सुधार गरिएको बताएका हुन्।

    नयाँ व्यवस्थाअनुसार घोषित २१ प्रतिशत तलब वृद्धिमध्ये १० प्रतिशत वृद्धि कर्मचारीको प्रारम्भिक (बेसिक) स्केलमै समायोजन गरिनेछ। बाँकी १० प्रतिशत भने मासिक रूपमा दिइने प्रोत्साहन भत्ताका रूपमा लागू गरिने व्यवस्था गरिएको छ। यसरी तलब वृद्धि र प्रोत्साहन भत्ता दुवै संयोजन गरेर कर्मचारीको समग्र आम्दानी बढाउने सरकारको लक्ष्य रहेको अर्थमन्त्रीले स्पष्ट पारे।

    त्यसैगरी हाल कर्मचारीहरूले पाइरहेको महँगी भत्ता भने यथावत् राखिएको छ। महँगी नियन्त्रणका लागि भत्तामा कटौती नगरी निरन्तरता दिइएको सरकारको भनाइ छ।

    अर्थमन्त्री वाग्लेले विगत चार वर्षदेखि सरकारी तलब संरचनामा पुनरावलोकन नभएको उल्लेख गर्दै सो अवधिमा करिब १७.३ प्रतिशतसम्म महँगी वृद्धि भएको तथ्यलाई आधार मानेर यो निर्णय गरिएको बताए। उनका अनुसार बढ्दो जीवनयापन खर्च र आर्थिक दबाबलाई मध्यनजर गर्दै कर्मचारीको जीवनस्तर सन्तुलित राख्न तलब समायोजन आवश्यक भएको हो।

    सरकारले यो निर्णयलाई प्रशासनिक सुधार र सेवा प्रवाह सुधारसँग समेत जोडेको छ। तलब वृद्धि तथा प्रोत्साहन प्रणालीले कर्मचारीलाई थप प्रेरित गर्दै कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार