२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

काभ्रे रास्वपाको नेतृत्वमा निरन्तरता: ढकाल फेरि सभापति


७८१ पाठक संख्या
  • २०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोक जिल्ला समितिको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनले प्रवीणकुमार ढकाललाई पुनः जिल्ला सभापतिमा निर्वाचित गरेको हो । ढकाल दोस्रो कार्यकालका लागि सभापतिमा चयन भएका हुन् ।

    अधिवेशनमार्फत गठन गरिएको १३ सदस्यीय नयाँ जिल्ला कार्यसमितिमा सचिव पदबाहेक अन्य सबै पद सर्वसम्मत रूपमा चयन गरिएको पार्टीले जनाएको छ । नेतृत्व चयन प्रक्रियामा पार्टीभित्र सहमति र एकता देखिएको बताइएको छ ।

    नवगठित कार्यसमितिको उपसभापतिमा पुण्यमाता घिमिरे चयन भएकी छन् भने सहसचिवको जिम्मेवारी प्रकाश तिमल्सिनालाई दिइएको छ । संगठनात्मक संरचनालाई प्रभावकारी बनाउने उद्देश्यसहित नेतृत्व चयन गरिएको अधिवेशनले जनाएको छ ।

    कार्यसमितिको सदस्यहरूमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा चयन भएका छन् । सचिव पदमा भने गुणनिधि सापकोटा निर्वाचित भएका छन् ।

    पुनः सभापतिमा निर्वाचित भएपछि प्रवीणकुमार ढकालले पार्टीलाई जिल्लामा अझ सशक्त, संगठित र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन विस्तार, कार्यकर्ता सक्रियता वृद्धि र जनसम्पर्क सुदृढीकरणलाई प्राथमिकता दिने बताए ।

    ढकालले पार्टीको नीति, विचार र जनअपेक्षालाई व्यवहारमा उतार्ने गरी काम गर्ने उल्लेख गर्दै सबै तहका कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।

    अधिवेशनको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले गरेका थिए । उनले पार्टी कार्यकर्तालाई जनहित, सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा सक्रिय हुन आग्रह गरे । पराजुलीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई थप बलियो बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    नयाँ जिल्ला कार्यसमिति गठनसँगै रास्वपा काभ्रेपलाञ्चोकले संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सर्वसम्मत रूपमा भएको नेतृत्व चयनले पार्टीभित्रको आन्तरिक एकता र समन्वयलाई मजबुत बनाएको नेताहरूको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार