काभ्रेपलाञ्चोक । नेकपा नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने वा पद बाँडफाँट गर्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन्।
शनिबार बनेपामा आयोजित नेकपा खानीखोला सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पुनले एमालेभित्रै विभिन्न विषयमा आन्तरिक बहस जारी रहेकाले अहिले नै पार्टी एकता वा नेतृत्व तहमा पद बाँडफाँटको निष्कर्षमा पुग्ने अवस्था नरहेको बताएका हुन्।
“एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ। भविष्यमा पार्टी एकताका विषयमा नेतृत्व तहमा कुराकानी भएको हो। तर तत्काल एकता गर्ने वा पद बाँडफाँट गर्ने विषयमा कुनै सहमति भएको छैन,” पुनले भने।
उनका अनुसार विभिन्न वाम शक्तिबीच सहकार्यको आवश्यकता भने बढ्दै गएको छ। संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको पुनको भनाइ थियो।
राजनीतिक आवश्यकता र परिस्थितिअनुसार नेपाली कांग्रेससँग समेत सहकार्य गर्न सकिने उनले बताए। उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू अहिले सरकारमा पुगेको टिप्पणी गरे।
पुनले वर्तमान राजनीतिक परिस्थितिलाई वाम तथा लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य र संवादमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस