२०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

वर्षाले कर्णाली अस्तव्यस्त, ठाउँ–ठाउँमा पहिरो


७५५ पाठक संख्या
  • २०८३ आश्विन १०, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • १० असोज, सुर्खेत । लगातारको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथलह सडकमा पहिरो खसेपछि कतिपय सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् ।

    रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन डिभिजन सडक कार्यालय चौरजहारीले मेसिन परिचालन गरेको छ ।

    कार्यालय प्रमुख खुमबहादुर भण्डारीका अनुसार पहिरो पन्छाएर करिब दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    यस्तै, कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खस्दा सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । पहिरोका कारण उक्त खण्डमा यातायात आवागमन प्रभावित भएको छ । जुम्लादेखि मुगुसम्मको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो खस्ने क्रम बढेकाले प्रहरीले सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑