काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा हुने बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन्।
बन्दसत्रमा देशभरबाट करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराउने तयारी गरिएको छ।
कांग्रेसले आइतबार खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न गरेको थियो। बन्दसत्रसँगै आजदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। पहिलो चरणमा साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसमा दाबी–विरोधका लागि साँझ ६ः३० बजेसम्मको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली भने आज राति ८ः३० बजे प्रकाशन हुनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोधको समय तोकिएको छ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन उम्मेदवारहरूले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने निर्वाचन समितिले जनाएको छ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिनेछ। कांग्रेसका एक पदाधिकारीका अनुसार यसपटकको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छैन।

प्रतिक्रिया दिनुहोस