काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन, दाबी–विरोध र जाँचबुझको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । बुधबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन प्रचार–प्रसारका लागि समय छुट्याइएको छ ।
बिहीबार (२२ असोज) बिहान ७ः३० देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिएका छन् । मतदान राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमतीका प्रतिनिधिले सभा गृह तथा गण्डकी र लुम्बिनीका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन् । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले पनि खुलामञ्चमै मतदान गर्नेछन् ।
महाधिवेशनमा साढे सात हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको कांग्रेसले जनाएको छ । प्रतिनिधिको संख्या बढेसँगै विभिन्न पदमा उम्मेदवारीका आकांक्षी पनि उल्लेख्य देखिएका छन् ।
विधान संशोधनपछि यसपटक कांग्रेसमा चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री निर्वाचित हुनेछन् । चारमध्ये एक उपसभापति र एक महामन्त्री महिला हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीतर्फ नौ समावेशी समूहबाट एक–एक, दुई खुला र चार जना सभापतिबाट मनोनीत हुनेछन् ।
केन्द्रीय सभापतिका लागि कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्यता तथा पदाधिकारी र केन्द्रीय सदस्यका लागि १० वर्ष क्रियाशील सदस्यता आवश्यक पर्ने निर्वाचन निर्देशिकामा उल्लेख छ । ३५ वर्षमुनिका युवा, समायोजन भएर आएका तथा पेशागत–श्रमिक क्षेत्रका सदस्यका हकमा भने उक्त अवधि लागू नहुने व्यवस्था छ ।
यसपटक केन्द्रीय कार्यसमितिमा विभिन्न समावेशी समूह, प्रदेश, युवा, महिला, श्रमिक तथा पेशागत क्षेत्रबाट ठूलो संख्यामा सदस्य निर्वाचित हुनेछन् । सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था पनि कायम छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस