२०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026

पोषणबारे जनचेतना फैलाउन सप्ताहव्यापी कार्यक्रम


८८५ पाठक संख्या
  • २०८३ आश्विन १९, सोमबार मा प्रकाशित १९ घण्टा अघि
  • चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।

    सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबरको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते (अक्टोबर ९) मनाइँदैछ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।

    दिवसको अवसरमा देशभरका विभिन्न विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारमा यसको महत्वबारे जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेका छन्। भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यालय पुगेर अण्डाको उपयोगिताबारे जानकारी दिइरहेका छन्।

    असोज २३ गते चितवनमा बिहान ७ बजे उद्योग सङ्घको परिसरबाट ‘एग वाक’ सुरु गरी नारायणगढको सहिद चोकमा पुगेर समापन गरिनेछ। त्यसपछि सरोकारवालाको सहभागितामा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे प्यानल डिस्कसन आयोजना गरिने सङ्घले जनाएको छ।

    फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी–१२, कोलिन, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कलगायतका पोषक तत्व पाइन्छन्। अण्डाको प्रोटिनले मांसपेशी तथा तन्तु निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

    अण्डाको पहेँलो भागमा पाइने कोलिन, ल्युटिन र जेक्स्यान्थिनले क्रमशः मस्तिष्क, स्नायु प्रणाली तथा आँखाको स्वास्थ्यमा योगदान पुर्‍याउने डा. अधिकारीले बताए। अण्डाको पहेँलो भाग खान नहुने पुरानो धारणा रहे पनि अहिले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्वपूर्ण हिस्सा मानिने गरिएको उनले बताए।

    किसान विस्थापित हुने अवस्था आएपछि चार वर्षअघि स्थापना भएको सङ्घले अण्डाको बजारीकरणमा पहल गर्दै आएको छ। अध्यक्ष पोखरेलका अनुसार लागत मूल्य नपाउँदा समस्यामा परेका किसानले पछिल्लो समय लागतअनुसारको मूल्य पाउन थालेका छन्। उत्पादनसँगै अण्डाको खपत बढाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑