३१ वैसाख, बुटवल । जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले भारतबाट स्वदेश फर्किन सीमा क्षेत्रमा आइपुगेका नेपालीहरुलाई राख्न रुपन्देहीका सबै पालिकाले एक हजार जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय पनि गरेको छ । बैठकमा सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई मंगलबार साँझ नै रुपन्देहीमा ल्याएर बिभिन्न क्वारेन्टाइनमा राख्नेबारे छलफल भएपनि निश्कर्षमा पुग्न नसकेको र सम्भवतः बुधबार ल्याइने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
सीमा क्षेत्र सुनौलीमा एक हजार बढी नेपाली केही दिनदेखि स्वदेश फर्कनका लागि जम्मा भएर बसेका छन् । सीमा क्षेत्रका नेपाली ल्याएर राख्न सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका नगरपालिका तथा ओमसतिया गाउपालिकाले नयां क्वारेन्टाइन बेड तयार गरेका थिए । तिलोत्तमाले मधवलिया माविमा दुईसय जना राख्ने गरी सबै पुर्वाधार तयार गरिसकेको छ । रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमण भएको छ भने एक जना निको भएर घर फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस