२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

वडा अध्यक्षकै योजनामा सामुहिक हत्या भयो -गृह


२२९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १, सोमबार मा प्रकाशित ४ साल अघि
  • १ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

    वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ । घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।

    अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।

    उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ ।

    उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर, स्थान भने उल्टो बनाइदिए । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरुलाई छेक्ने योजना बनाएका रहेछन् ।’

    वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नपसेको पाइएको छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘गाउँलेलाई भेला गरेर धेरै टाढा पुगिसकेका पीडितलाई पिछा गरेर ढुंगा, मुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।’

    वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

    हाल प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष मल्लले भने आफूले नै गलत सूचना पाएको प्रहरी समक्ष दाबी गरेका छन् । उनले घटना भएको दिन आफू क्वारेन्टिनको अवलोकनमा रहेको बताउँदै भनेका छन्, ‘नगरपालिकाका स्वंमसेवकहरु पनि क्वारेन्टिन अवलोकन गर्न आएकाले उनीहरुलाई पनि केटाहरु आएको जानकारी गराइ नियन्त्रणमा लिनुपर्छ भनी म गाउँतिर गएको हो ।’

    आफू गाउँमा पुग्दा केटाहरुलाई नदेखेको बताएका छन् । तर खोज्दै जाँदा घटनास्थल भएको स्थानमा एक जना कार्की थरका केटालाई प्रेमबहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको बताएका छन् । ‘अन्य प्रतिवादीहरु पछाडिबाट दौडिँदै आउँदै थिए, अन्य केटाहरु म भन्दा अगाडि नदी बगरतिर गइसकेका रहेछन्’, उनको दाबी छ, ‘मैले कसैलाई कुटपिट गरेको होइन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार