२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

खासामा रहेको (दुधपोखरी) छ्यो ताल फुट्ने खतरा, भोटेकोशि किनाराका वासिन्दा सतर्क रहने सुचना जारी


४४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • ५ साउन, काठमाडौं । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ ।

    चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘त्यही भएर हामीले पनि सतर्कता अपनाउनु पर्ने भएको छ ।’

    पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए ।

    बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालेपनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए । उनका अनुसार केरुङ च्छो (दूधपोखरी)फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।

    तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको शेर्पाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार