काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकाको विभिन्न होटलबाट करीब ९०० लिटर घरेलु मदिरा इलाका प्रहरी कार्यालय बनेपाले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको टोलीले बुधवार उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो ।
बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत होटलको अनुगमन गरिएको प्रमुख तिमल्सिनाले बताए । उनका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।
प्रमुख तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताए । यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरणमा प्रहरीले निगरानी बढाएको छ । बरामद गरिएको ९०० लिटर मदिरा नष्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस