१८ साउन, काठमाडौं । एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार शनिबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा संक्रमण देखिएका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो ।
संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुबाट दिइने सेवाप्रवाह मंगलबारसम्म बन्द गरेर कर्मचारीहरुको परीक्षण थालिएको उनले बताए । डोटेलले भने, ‘आइतबार २६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौं । बाँकीको भोलि गर्ने छौं । कार्यपालिकाभित्र २२ जना कर्मचारी कार्यरत छन् । कर्मचारी लगायत जनप्रतिनिधिहरुको पनि परीक्षण गरेर मात्रै कार्यालय खोल्ने तयारी हामीले गरेका हौं ।’ उनका अनुसार गाउँपालिकामा अहिलेसम्म ६ जनामा संक्रमण पुष्टि भएको मध्ये अन्य चार जना भने डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस