२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

गोकर्णेश्वर मन्दिर सिल


२९९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • ३ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला नलाग्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष लाग्दै आएको मेला यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो ।

    गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेका अनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्न जान नपाउने व्यवस्था गरिएको छ ।

    पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

    बाबुको मुख हेर्ने दिन पिता दिवंगत भएका छोरा–छोरी गोकर्णेश्वर मन्दिरमा गएर तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

    यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औंसीका दिन यहाँ हजारौं भक्तजनको भीड लाग्ने गर्दछ । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वका साथ पुजिन्छ ।

    विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिए । कोरोनाको जोखिम बढ्दै गएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सबै प्रकारका जात्रा, मेला र भिडभाड हुने गतिविधि गर्न पूर्णरुपमा रोक लगाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार