२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

वडा अध्यक्ष विरुद्ध सङ्घर्ष समिति


१९८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
    • रामकृष्ण बञ्जारा

    काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ईश्वर राज जङ्गमले जनताको पक्षमा काम गर्न नसकेको भन्दै विरोध गरेका छन् । कलाँती भुमिडाँडा संरक्षण युवा क्लबको आयोजना र वडा सदस्यहरू क्षेत्र बहादुर तामाङ र प्रह्लाद केसीको विशेष उपस्थितिमा रोशी बजारमा बिहीबार नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष जङ्गमको विरोध गरेका हुन् ।

    कार्यक्रममा समाजसेवी सन्त बहादुर तामाङले सडक, खानेपानी लगायतका योजना कमाई खाने भाँडो बनेको आरोप लगाए । एकीकृत खानेपानी लगे बापत शिक्षा, स्वास्थ्य र रोजगार दिनुपर्ने सर्त सहित भएको बताउँदै उनले कार्यान्वयन नभएकोमा दुःख व्यक्त गरे ।

    वडा अध्यक्ष माथि प्रश्नै प्रश्न

    कार्यक्रममा सहभागीहरूले वडा अध्यक्ष जङ्गमलाई धेरै वटा प्रश्न गरेका थिए । खानीबाट आम्दानीको २५ प्रतिशत बजेट नगरले १२ नं वडाको विकासमा लगाउनु पर्ने, वैकल्पिक सडक निर्माण गर्ने बजेट किन सदुपयोग भएन ? खानीले खोला अधिकरण गर्दा वडा अध्यक्ष किन मौन बसेका हुन ? नगरको अनुगमन समितिले किन कारबाही गर्न सक्दैन ? ९ सय घरधुरी हिँड्ने बाटोमा किन बस सञ्चालनको योजना भएन ? स्कुल जाने विद्यार्थीहरूको सडकमा दैनिक हिँड्दाको समस्या, खानीले प्रति ट्रिपर पानी हाल्न लिने १ सय २५ रुपैयाँ मजदुर कल्याणका लागी प्रति ट्रिपर उठाएको ५० रुपैयाँ प्रति ट्रिपरको व्यवस्थापन खर्चको हरहिसाब खानी प्रभावित क्षेत्रका जनताले पाउने सेवा सुविधा समेतबाट वञ्चित किन हुनु परेको ? लगायतका प्रश्न गरेका थिए ।

    वडा अध्यक्षको कारण लज्जित

    सडकमा मान्छे हिँड्ने पेटी छैन, खानीको डष्टको कारण कुनदिन रोशीबजार, गागल, कोलाती, मगरगाउँ, सिम पानीसम्मका क्षेत्रमा ठुलो क्षति हुने खतरा बताउँदै केसीले आफूहरू नै वडा अध्यक्षको गतिविधिले लज्जित भएको बताए । ‘हामीलाई मतदान गर्नुहुने जनता हिलोमा हिड्नु पर्ने र पनौतीबाट भुमिडाँडासम्म बस सञ्चालन गर्न नसक्दा मेरो शिर झुकेको छ ।’ उनले भने, ‘वडा अध्यक्षले जनताभन्दा पनि दुईचार जनालाई हातमा लिएर जनतालाई लत्त्याएकाले आज हामी यो क्लबले आयोजना गरेको सभामा बोल्न बाध्य भयौँ । अब हामी आफै वडाका जनताका लागी आन्दोलनमा सहभागी हुन्छौँ ।’

    त्यसैगरि अर्का वडा सदस्य क्षेत्रबहादुर तामाङले वडा अध्यक्ष तानाशाही भएको आरोप लगाए । आफूलाई चार वर्षको अवधिमा आज क्लबले माइक समाउने अवसर दिएकोमा धन्यवाद दिँदै यहाँको साधन स्रोत उपयोग गर्ने योजना ल्याउन सके डाँडाकाँडा कुनै पनि जनताका छोराछोरी कमाउन खाडी मुलुक जानु नपर्ने बताए ।

    वडा अध्यक्षले त्यस्तो योजना कहिले पनि ल्याउन नचाहेको बताउँदै एक घर एक धारा र एक घर पाँच फलफूलका बिरुवा रोप्न प्रस्ताव राख्दा सुनुवाइ नभएको गुनासो समेत गरे । ‘तपाईँहरूले दिएको मतको १२नं वडाको जनताको जनप्रतिनिधि भएकोले वडा अध्यक्ष सहित अन्यको बहुमत बनाएर जबरजस्ती काम गर्ने गरेकाले राजीनामा समेत दिएका थियौँ ।’ तामाङले भने, ‘करोडौँ आम्दानी दिने भूमि डाँडालाई नगरप्रमुख र वडा अध्यक्षको कारण हिलो, धुलो र पनौतीदेखि हिँड्न बाध्य छन् । त्यसैले आज हामी दुई जनप्रतिनिधि पद सद् गोलिमार भनेर जताकाबिच आएका छौँ । चाडै नगर परिषद् आउदैछ हामीले हाम्रो हकहितको कानुन बनाउनको लागी जनताको बिचमा यस सभा मार्फत तपाईँहरूसँग समेत सहयोगको अपेक्षा गरेका छौँ ।’

    क्लबका अध्यक्ष राजकुमार तामाङले सबै जनताको गुनासो राख्न दल भन्दा अलि माथि उठेर कार्यक्रम आयोजना गरेको बताउँदै सबैको साझा समस्या समाधान गर्ने फोरम बनाएकोले फोरमले एउटा सङ्घर्ष समिति गठन गरेर सात दिन भित्रमा आफूहरूको समस्या सम्बन्धित निकायमा पुर्‍याउने बताए ।
    कार्यक्रमको सञ्चालन क्लब सचिव बालकृष्ण केसीले गरेका थिए ।

    यसैबिच वडा सदस्य प्रह्लाद केसीको संयोजकत्व र अर्का जनप्रतिनिधि क्षेत्र बहादुर तामाङ समेत रहेको ५१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ । वडा अध्यक्षको गलत गतिविधि र जनताका दैनिक समस्या समाधानका लागी जनप्रतिनिधि नै सङ्घर्षमा आउनुले पनौती नगरपालिकाको काम कारबाही माथि नकारात्मक प्रश्न उठेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार