काभ्रे : बैंकिङ कसुर मुद्दामा फरार रहेका काभ्रेका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ५ घर भइ काठमाडौ स्थित महाराजगन्ज बस्दै आएका ५६ वर्षका अनिल मोक्तान रहेका छन् ।
उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।विदुर पौडेल, प्रदिप बास्कोटा, दिपक बहादुर अधिकारी, बालकृष्ण थापा मगरको छुट्टाछुट्टै जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अनिल मोक्तान भएको बैंकिङ कसुर मुद्दा (थान-४) मा सम्मानित उच्च अदालत, पाटन ललितपुरको विभिन्न मितिको फैसलाले अनिल मोक्तानलाई जाहेरवालाहरूको जम्मा बिगो रू.११,५०,०००।- (एघार लाख पचास हजार) भराई बिगो बमोजिम जरिवाना र जम्मा ७ दिन कैद सजाय फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका मोक्तानलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस