२०८१ पौष २५, बिहिबार | Thu, 09, Jan, 2025

रेडक्रसमा एक करोडको कोषको लागि महेश खरेलबाट सुरुवात‚ पाँचखाल नगरवासीले आवश्यकता अनुसार निःशुल्क रगत पाउने


५७७३ पाठक संख्या
  • २०८१ पौष २४, बुधबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा बसोवास गर्ने नगरवासीको लागि आवश्यकता रगत निःशुल्क पाउने व्यवस्था मिलाइएको छ ।

    नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक द्वारा संचालित रक्तसञ्चार केन्द्र बाट निःशुल्क रुपमा उपलब्ध गराउने विषयमा आज (बुधवार) पाँचखाल नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बीच सम्झौता भएको छ ।

    पाँचखाल नगरपालिका मेयर महेश खरेल र नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापति देवेन्द्र भैल द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा पाँचखाल नगरको तफर्बाट साक्षीमा प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मी र स्वास्थ्य शाखाको तफर्बाट विष्णु प्रसाद गौतम र रेडक्रसको तफर्बाट साक्षीमा मन्त्री राजु सिग्देल र रेडक्रस शाखा कार्यालय प्रमुख त्रिरत्न राजबाहक रहनुभएको छ ।

    रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाको स्थायी बासिन्दा भएको ( नागरिकता‚ मतदाता परिचय पत्र‚ बसाइ सराई) प्रमाण खुल्ने कागजातको आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको छ । नगरपालिकाको तफर्बाट हरेक वडाहरुमा पालो मिलाई कम्तीमा बाषिर्क ४ वटा रक्त सङ्कलन शिविर रक्तसञ्चार सेवाको सहयोगमा आयोजना गर्नुपर्ने छ । निः शुल्क सेवाको लागि पाँचखाल नगर पालिकाले अग्रिम तीन लाख रुपैयाँ रक्त सञ्चार सेवाको खातामा जम्मा गर्नु पर्ने सर्त रहेको छ ।

    सम्झौता हस्ताक्षर गर्ने कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई मजबुत बनाउनु हामी सबैको कर्तव्य रहेको बताउँदै सुरुवातमा कम्तिमा १ करोडको कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको थियो । कोषको सुरुवातीको लागि पाँचखाल मेयर खरेलले व्यक्तिगत तफर्बाट ५० हजार बिउ पुँजीको व्यवस्था गर्नुभएको थियो । मेयर खरेलले घोषणा गरे लगतै रेडक्रस काभ्रे शाखा सभापति देवेन्द्र भैलले कोष व्यवस्थापनको लागि २५ हजार उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

    सम्झौता कार्यक्रममा रेडक्रस काभ्रे शाखा सभापति देवेन्द्र भैलले भवनको थप व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभापति भैलको धारणालाई समर्थन गर्दै पाँचखाल मेयर खरेलले आफ्नो पिता राजेन्द्र खरेलको नाउबाट एक कोठाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माघ महिनामा पाँचखाल नगरमा रेडक्रस काभ्रे शाखासँगै सहकार्य गर्दै १ दिने गोष्ठी गर्ने र सोही अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बताउनु भयो ।

    यस्तो छ रक्तसञ्चार सेवा बनेपा र पाँचखाल नगरपालिका बिचसम्झौता पत्र

    श्री पाँचखाल नगरपालिका कार्यालय (यस पछि “नगरपालिका”भनिने र नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा रक्तसञ्चार सेवा, (यस पछि रक्त रक्तसञ्चार सेवा”भनिने ) बीच पाँचखाल नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा देहाय बमोजिम शर्त पालना गर्ने दुवै पक्षका प्रतिनिधिहरुबीच सहमति भई यस सम्झौता पत्रमा सही छाप गरी एक /एक प्रति बुझिलियौं ।
    उदेश्य ।
    १. पाँचखाल नगरपालिकाका स्थायी ( बिरामी ) बासिन्दाहरुलाई रगत उपलब्ध गराउने ।
    २. पाँचखाल नगरपालिकाबाट काभ्रे रक्तसञ्चार सेवामा रगत संकलन कार्यमा सहयोग गर्ने ।
    सहमतिका बुँदा तथा शर्तहरु
    १.रगत वा रक्त तत्व आवश्यक पर्दा स्टकमा उपलब्ध भएको आधारमा प्राथमिकता दिई रक्तसञ्चार सेवाले पाँचखाल नगरपालिकाका स्थायी बासिन्दाहरुलाई रगत उपलब्ध गराउनेछ ।
    २. रक्त सञ्चार सेवाले आर्थिक प्रतिवेदन पठाउँदा सेवा प्रदान गरिएको व्यक्तिको नामावली र उपलव्ध गराइएको रगत तथा रक्ततत्वको किसिम तथा लागेको शुल्क निम्न कागजातहरु संलग्न गर्नु पर्नेछ।
    क) रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाको स्थायी बासिन्दा भएको ( नागरिकता,मतदाता परिचय पत्र,बसाइ सराई,इत्यादि ) प्रतिलिपि हुनु पर्नेछ । वा सम्बन्धित वडा कार्यालयको प्रमाणित सिफारिस हुनु पर्नेछ ।
    ३.आपतकालिन अवस्थामा रगत लिनु पर्ने भई सम्बन्धित व्यक्तिले अन्य कागजात पेश गर्न नसकिने अवस्थामा नगद भुक्तानी गरी सम्बन्धित व्यक्तिले सेवा लिन सक्ने छ । नगरपालिकाको सिफारिस वा कागजात प्राप्त भएपछि भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने वा विलको आधारमा रक्तसञ्चार सेवा बाटै भुक्तानी फिर्ता दिने व्यवस्था मिलाइने छ । यो कारबाही रगत तथा रक्त तत्व सेवा लिइएकोे दिनको ७ दिन भित्रै आवश्यक प्रक्रिया गरिसक्नु पर्ने छ ।
    ४.अस्पतालमा लगिएको रगत प्रयोग नभएमा गुणस्तर नविगारी फिर्ता गर्न गराउन विरामीका आफन्तलाई उत्प्रेरित गराउने संयूक्त जिम्मेवारी हुनेछ । त्यस्तै नगरपालिका क्षेत्रभित्र रक्तदान उत्प्रेरणा कार्यक्रम आयोजना गर्न गराउन नगरपालिकाले नगर क्षेत्रभित्रका संघ संस्था वा सरोकारवाला निकायलाई प्रेरित हुने योजना बनाइने छ ।
    ५.नगरपालिकाले हरेक वडाहरुमा पालो मिलाई कम्तीमा बार्षिक ४ वटा रक्त संकलन शीविर रक्तसञ्चार सेवाको सहयोगमा आयोजना गर्नेछ ।
    ६) पाँचखाल नगर पालिकाले अग्रिम ३०००००।– ( अक्षरुपी तीन लाख ) रुपैया रक्त सञ्चार सेवाको खातामा जम्मा गर्नु पर्नेछ ।
    ७. रक्त वा रक्ततत्व सम्बन्धमा रक्त वा रक्ततत्व प्रति युनिट शुल्क रु १०५०÷–(अक्षरेपी एक हजार पचास ) कायम गरिएको छ ।
    ८) रक्त सञ्चारसेवा पाँचखालबाट सेवाग्राहीहरुलाई उपलव्ध गराइएको रगत वा रगत तत्वको भुक्तानी प्रत्येक महिनाको १५ गते भित्र नगरपालिकाबाट उपलव्ध गराउने छ ।
    ९. आपसी सहमतिमा सम्झौताको अवधि र शर्त थपघट गर्न गराउन सकिनेछ ।
    १०. प्रत्येक ६ महिनामा दुवै पक्षको सहभागितामा समीक्षा बैंठक आयोजना गरिनेछ ।
    ११. यो सम्झौताको अवधि २०८१/०८२ को आषाढ मसान्त सम्म हुनेछ ।
    १२. आर्थिक बर्ष समाप्त भएको ३५ दिन भित्र पुन / सम्झौता गर्न सकिनेछ ।

    पाँचखाल नगरपालिकाको तर्फबाट- श्री महेश खरेल

    नेरेसो काभ्रे जिल्ला शाखा कार्यालयको तर्फबाट -श्री देवेन्द्र प्रसाद भैल

    साक्षीहरु साक्षीहरु
    श्री अच्युत राज रेग्मी -प्रमुख प्रशासकीय अधिकृत

    श्री राजु सिग्देल- मन्त्री

     बिष्णु प्रसाद गौतम-स्वास्थ्य कार्यालय

     त्रिरत्न राजबाहक- कार्यालय प्रमुख -(रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु