२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

सीटीईभीटीमा आन्दोलन चर्कियो, करार कर्मचारीले शैक्षिक कामकाज बन्द गर्ने घोषणा


१०९३ पाठक संख्या
  • २०८३ श्रावण १५, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, १५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले सेवा सुरक्षा, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री कार्य वातावरणको माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्।

    संघर्ष समितिका सहसंयोजक इन्जिनियर युकेश गौतमका अनुसार लामो समयदेखि सेवा सुरक्षाको अभाव, सामाजिक सुरक्षाको सुनिश्चितता नहुनु तथा कर्मचारीमैत्री व्यवस्थापनको कमीका कारण आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

    ‘करार कर्मचारीहरू सेवा सुरक्षाको अभाव, सामाजिक सुरक्षाको सुनिश्चितता नभएको र श्रमिकमैत्री वातावरणको कमीका कारण आन्दोलन गर्न बाध्य भएका छौं। पटक–पटक माग राख्दा पनि व्यवस्थापनबाट कुनै ठोस सुनुवाइ नभएपछि आन्दोलनको विकल्प रोज्नुपरेको हो,’ गौतमले बताए।

    आन्दोलनअन्तर्गत संघर्ष समितिले देशभरका सीटीईभीटीका कार्यालय प्रमुखमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकेको जनाएको छ। साथै, साउन १४ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अनिश्चितकालीन ‘पेन डाउन’ कार्यक्रम सञ्चालन भइरहेको छ।

    गौतमका अनुसार परिषद्अन्तर्गत रहेका ६७ वटा आङ्गिक शिक्षालयका करिब १,६०० भन्दा बढी करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा सहभागी छन्। उनीहरूले व्यवस्थापनले मागप्रति कुनै चासो नदेखाएको आरोप समेत लगाएका छन्।

    संघर्ष समितिले आन्दोलनलाई थप कडा बनाउने चेतावनी पनि दिएको छ। समितिका अनुसार साउन १५ गतेदेखि १८ गतेसम्म परिषद्अन्तर्गतका शिक्षालयहरूको शैक्षिक, प्रशासनिक तथा आर्थिक शाखाको सम्पूर्ण कामकाज बन्द गरिनेछ।

    त्यसपछि पनि माग सम्बोधन नभए साउन २२ गतेदेखि शैक्षिक गतिविधि, परीक्षा सञ्चालन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामकाज ठप्प पार्दै धर्ना कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ।

    यस्तै, साउन २५ गते देशभरका करिब १,६०० करार तथा ज्यालादारी कर्मचारी काठमाडौंस्थित सीटीईभीटीको केन्द्रीय कार्यालयमा भेला भई बृहत् धर्ना कार्यक्रम आयोजना गर्ने तयारी गरिएको संघर्ष समितिले जनाएको छ।

    आन्दोलनका कारण प्राविधिक शिक्षालयहरूको नियमित प्रशासनिक सेवा, शैक्षिक गतिविधि तथा परीक्षा व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने सम्भावना देखिएको छ। समितिले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न परिषद् व्यवस्थापन र सम्बन्धित सरकारी निकायसँग आग्रह गर्दै माग बेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार