काठमाडौँ — पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ।
देशका अन्य भागको मौसम भने मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
बेलुका भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस