काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेमा रहेको ग्रामीण पाठशालाले एक विशेष अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले श्रीकृष्ण पार्टी प्यालेसको सभाहलमा आयोजित सो कार्यक्रममा ग्रामीण पाठशालामा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक एवं प्रधानाध्यापक बिदुर भण्डाररीले गर्नुभएको थियो । उहाँले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको आवश्यकता र अभिभावकहरूको भूमिकाबारे प्रकाश पार्दै, विद्यालयको भावी योजना तथा शैक्षिक दृष्टिकोणबारे विस्तृत जानकारी दिनुभयो ।
साथै आफ्ना अनुभूति, कक्षाकोठा पद्धति, मूल्यांकन प्रणाली, विद्यार्थीको समग्र विकासमा केन्द्रित गतिविधिहरू र विद्यालयमा भित्र्याइएका नयाँ पठन–पाठनका तरिकाबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विभिन्न बुंदाहरुमा छलफल भएको थियो जसमा शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक र विद्यालयबीच सहकार्यको आवश्यकता । विद्यार्थीको घरको वातावरण र व्यवहार विद्यालयमा देखिने असरबारे छलफल । अंग्रेजी भाषा सुदृढीकरण कार्यक्रमको अवलोकन, स्थानीय सन्दर्भलाई समेटेर सिकाइलाई सजीव बनाउने योजनाको प्रस्तुति लगायतका विषयहरु रहेका थिए ।
कार्यक्रममा सहभागिता जनाएका धेरै अभिभावकहरूले विद्यालयले लिएको यो पहलप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो । उहाहरुले विद्यालयसँग सहकार्य गर्दै आफ्ना छोराछोरीको शिक्षामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रमको समापनमा प्रीन्सीपलले सबै अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “शिक्षा भनेको शिक्षक, अभिभावक र विद्यार्थीबीचको साझेदारी हो । हामी सबै मिलेर ग्रामीण क्षेत्रमै उत्कृष्ट शिक्षा दिन सक्छौं भन्ने हाम्रो दृढ विश्वास हो ।”

प्रतिक्रिया दिनुहोस