२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

वाम पुनर्संरचनातर्फ कदम : नेकपाले जारी गर्यो देशव्यापी एकता–अपिल


५३८३ पाठक संख्या
  • २०८२ मंसिर १३, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौं – बाम तथा प्रगतिशील धारभित्र पछिल्लो समय देखिएको पुनः ध्रुवीकरण प्रयासलाई सशक्त बनाउँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूलाई एकता, ध्रुवीकरण र सहकार्य को प्रक्रियामा सहभागी हुन औपचारिक आह्वान गरेको छ।

    शुक्रबार जारी गरिएको अपिलमा नेकपाले वर्तमान राष्ट्रिय परिस्थितिले मागेअनुसार नयाँ राजनीतिक गठबन्धन र वैचारिक एकताका आधारहरू निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै, “पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा ध्रुवीकरण अभियानमा सहभागी हुन सबैप्रति आह्वान गरिन्छ” भनेको छ।

    अपिलमा पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद नै रहेको दोहोर्‍याउँदै श्रमजीवी वर्गको मुक्ति र सामाजिक रूपान्तरणको आधार यही विचारधारामा निहित रहेको टिप्पणी गरेको छ।

    पार्टीले अगाडि सारेको ‘नेपाली विशेषताको समाजवाद’ लाई दीर्घकालीन रणनीति मान्दै यसले देशको विशिष्टता, उत्पादन संरचना र सामाजिक रूपान्तरणका आवश्यकतालाई सम्बोधन गर्ने दाबी गरिएको छ।

    अपिलमा भनिएको छ—“सही विचार, राजनीतिक कार्यक्रम, सबैखाले अनुभव र ऊर्जाको संकेन्द्रण नै पार्टी एकताको सार हो।”

    हालै १५ वटा वाम एवं समाजवादी समूहबीच गरिएको एकीकरणलाई अपिलले नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादको दिशामा अघि बढ्ने ऐतिहासिक पहलका रूपमा प्रस्तुत गरेको छ।

    नेकपाका अनुसार,गणतन्त्रको रक्षा,राष्ट्रिय स्वाधीनताको संरक्षण,आर्थिक–सामाजिक रूपान्तरण,र समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने जिम्मेवारी,यो एकीकरणबाट बनेको संरचनाको मुख्य कार्यभार हो।

    यो आह्वानलाई पछिल्ला वर्षहरूमा विभाजन हुँदै आएको वाम राजनीति पुनः एक ठाउँमा ल्याउने प्रयासको रूपमा हेर्न सकिन्छ। एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वाम शक्तिहरूबीच बारम्बार देखिएको अविश्वास र सत्ता–प्रधान गठबन्धनहरूका कारण वाम मतदातामा निराशा बढिरहेको अवस्थामा, नेकपाको ‘ध्रुवीकरण अभियान’ स्वतन्त्र सत्ता–विकल्प निर्माणतर्फ केन्द्रित देखिन्छ।

    १५ समूहको एकीकरणले स्थानीय तहदेखि संघीय तहसम्म नयाँ समीकरण जन्माउने सम्भावना छ, विशेषतः ती क्षेत्रहरूमा जहाँ वाम मत विभाजनले परिणाम बदल्दै आएको थियो ।अपिलमा प्रयोग गरिएको “सच्चा लोकतन्त्रवादी” र “देशभक्त शक्तिहरू” जस्ता शब्दहरूले पार्टीले भविष्यमा ‘वाम–राष्ट्रवादी’ मोर्चा निर्माण गर्न खोजेको संकेत दिन्छ।

    राजनीतिक विश्लेषकहरूले यस कदमलाई वाम राजनीतिमा नयाँ खालको पुनर्संरचनाको संकेतका रूपमा लिएका छन्, यद्यपि मुख्यधारा वाम दलहरू (एमाले, माओवादी केन्द्र) यस प्रक्रियामा औपचारिक रूपमा सहभागी हुने वा नहुने प्रश्न खुला नै छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार