२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

काभ्रे उद्योग वाणिज्य संघको पहलमा तीनदोबाटो–पुलबजार सडक विवाद समाधान


८३४७ पाठक संख्या
  • २०८२ मंसिर १४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे उद्योग वाणिज्य संघको सक्रिय पहल र निरन्तर दबाबपछि अरनिको राजमार्गअन्तर्गत बनेपा तीनदोबाटोदेखि पुलबजारसम्मको सडक विस्तारमा देखिएको विवाद समाधान भएको छ। स्थानीय नागरिकको परामर्शबिनै एकलौटी रुपमा तयार पारिएको डिपिआरका कारण रोकिएको सडक निर्माण अब संशोधित योजनासहित अघि बढ्ने भएको हो।

    संघले पटक–पटक सडक डिजाइन, सर्भिस लेन, पुलको उचाइ तथा केन्द्र भाग पहिचानबारे सुधारको सुझाव दिए पनि आयोजनाले अवहेलना गर्दै निर्माण अघि बढाउन खोजेपछि स्थानीय असन्तुष्ट बनेका थिए। विवाद गहिरिँदै जाँदा सडक विस्तारसम्बन्धी काम झन्डै एक वर्षदेखि अवरुद्ध थियो।

    उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यका अनुसार निरन्तर संवाद र दबाबपछि आयोजनाले धेरै त्रुटि सच्याएर नयाँ डिपिआर तयार पारेको छ। पुलबजार क्षेत्रमा डुबानको आधारमा बनाइने भनिएको ३.५ मिटर अग्लो पुल अब २.६८ मिटरमै निर्माण गरिनेछ। त्यस्तै, सडकको केन्द्र भागको पहिचान स्थानीय मागअनुसार कायम गरिने र सोही आधारमा सडक निर्माण अघि बढाउने सहमति बनेको छ।

    पहिलो डिपिआरमा प्रस्ताव गरिएको ५.५ मिटर सर्भिस लेन अब परिमार्जन भएर दुवैतिर ६–६ मिटरका सर्भिस लेन बन्ने छन्। सर्भिस लेनभन्दा बाहिर फुटपाथ निर्माण गरिनेछ। संघले २०८० जेठ २४ गतेदेखि सडक, पुल र सर्भिस लेनको अव्यवस्थित डिजाइनविरुद्ध आवाज उठाउँदै आएको थियो। खानेपानी, बिजुली, ढल तथा अर्डरपाससम्बन्धी समस्या समाधान गर्दै मोडल प्राविधिक नक्सा सार्वजनिक गरिएसँगै संघको चेतावनी र दुरदर्शिता पुष्टि भएको देखिएको छ।

    आगामी वर्षामा सम्भावित डुबान रोकथामका लागि अहिले नै करिडोरको नक्सा कायम गरी आवश्यक माटो खोल्ने तथा योजनाबद्ध व्यवस्था मिलाउन संघले सुझाएको छ।

    विवाद समाधान भएको घोषणा आइतबार बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले गर्नुभयो। उहाँका अनुसार सूर्यमिनायक–धुलिखेल सडक अन्तरगत साँगा–धुलिखेल खण्डको डिजिटल नापी नक्सा आधार बनाएर सडक सिमाना कायम गरी रेखांकन गरिएको छ। न्युनतम साढे ८ मिटर बाटो कायम गर्ने, त्यसमा थप ६ मिटर सर्भिस लेन तथा दुई मिटर फुटपाथ बनाउने निर्णय गरिएको बताइएको छ।

    घोषणा कार्यक्रम सूर्यमिनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगर प्रमुख शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रशासनिक प्रमुख पोषण लामिछाने, विभिन्न वडाध्यक्ष, स्थानीय सरोकारवाला, काभ्रे उद्योग वाणिज्य संघका पदाधिकारी, नापी कार्यालयका जयराम तामाङ तथा निर्माण कम्पनीका इञ्जिनियरसहित सम्पन्न भएको थियो। स्थानीयवासीले अरनिको राजमार्गले छुने सबै ठाउँमा एकरूपता कायम गरी मात्र काम अघि बढाउनुपर्ने माग गर्दै आएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार