२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

सर्वोच्च आदेशपछि मधेशको सत्ता खाली: मुख्यमन्त्री यादवले दिए राजीनामा


५६९५ पाठक संख्या
  • २०८२ मंसिर १७, बुधबार मा प्रकाशित ७ महिना अघि
  • १७ मंसिर, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्। हालै आएको सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै उनले पदत्याग गर्ने निर्णय गरेका हुन्।

    सर्वोच्च अदालतले सरकार गठनसम्बन्धी प्रक्रिया र संवैधानिक व्यवस्थासम्बन्धी विवादमा निर्देशनात्मक आदेश जारी गरेपछि प्रदेशको राजनीतिक समीकरण बदलिएको थियो। अदालतको आदेशले प्रदेश सरकारको वैधता र निरन्तरतामा प्रश्न उठेपछि मुख्यमन्त्री यादवले संवैधानिक मर्यादा, राजनीतिक जिम्मेवारी र प्रदेशको स्थायित्वलाई ध्यानमा राख्दै पद त्याग गरेको बताएका छन्।

    राजीनामा पत्रमा उनले लेखेका छन्, “सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै, राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।”

    प्रदेशको नेतृत्व परिवर्तनको सङ्केतका रूपमा हेरिएको यस कदमपछि मधेश प्रदेशमा नयाँ सत्ता–समीकरण र राजनीतिक गठबन्धनका सम्भावनाहरूबारे चर्चा सुरु भएको छ। आगामी दिनमा प्रदेश प्रमुखले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

    यादवको राजीनामासँगै मधेश प्रदेशको राजनीति फेरि एक चरणको अस्थिरतामा प्रवेश गरेको छ। अब दलहरूले बहुमत जुटाएर नयाँ मुख्यमन्त्री चयन गर्ने वा वैकल्पिक व्यवस्था गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक शक्ति दबाबमा छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार