काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका क्षेत्रमा लागुऔषध ओसार–पसार तथा बिक्री वितरणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पाँचखाल नगरपालिका–५ स्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखालतर्फ आउँदै गरेका एक व्यक्तिलाई लागुऔषधसहित र पाँचखाल नगरपालिका–९ पलाञ्चोकबाट अर्का एकजनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पाँचखाल प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक (प्र.ना.नी) प्रसान्त तामाङका अनुसार पक्राउ पर्नेहरूमा पाँचखाल–६ बस्ने ‘माटे’ उपनामले चिनिने समिर पराजुली, पाँचखाल–९ बस्ने ज्ञानबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार खत्रीलाई पलाञ्चोकबाट ३ किलो गाँजासहित नियन्त्रणमा लिइयो। त्यस्तै, केराघारी, पाँचखाल–५ बाट पक्राउ परेका पराजुलीको साथबाट ट्रामाडोल १९ फाइल, नाइट्रोमोल लगायतका लागुऔषध बरामद गरिएको छ।
प्रहरी निरीक्षक तामाङले पाँचखाल र आसपासका क्षेत्रमा केही दिनयता लागुऔषधको कारोबार बढिरहेको सूचना पाएपछि विशेष खोजी अभियान सञ्चालन गरेको बताए।
उनका अनुसार, “लागुऔषध सेवन तथा ओसार–पसारले समाजमा त्रासदी वातावरण सिर्जना गर्छ। स्थानीयवासीले त्रासमुक्त वातावरणमा बस्न पाउने अधिकार सुरक्षित राख्नु हाम्रो कर्तव्य हो,” उनले भने।
प्रहरीले पाँचखाल तथा नजिकका क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाउने लक्ष्यसँगै निगरानी र नियन्त्रण अभियानलाई अझ कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस