काठमाडौं, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश क्षेत्रबाट निर्वाचित सांसदहरूले पछिल्लो मधेश केन्द्रित घटनाक्रममा गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टी सभापति रवि लामिछानेसँगको भेटमा गृहमन्त्रीले प्रभावित जिल्लाका जनप्रतिनिधिसँग समन्वय नगरेको भन्दै गम्भीर गुनासो गरेका हुन्।
रास्वपाका मधेशका सांसदहरूका अनुसार सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रम विस्तारै मधेशका अन्य जिल्लामा समेत फैलिँदा स्थानीय परिस्थिति बुझ्न र समाधान खोज्न सम्बन्धित क्षेत्रका सांसदहरूसँग गृहमन्त्रीले आवश्यक परामर्श तथा छलफल नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
छलफलमा सहभागी एक मधेशी सांसदका अनुसार सभापति लामिछानेसमक्ष गृहमन्त्रीको कार्यशैलीप्रति स्पष्ट रूपमा असहमति राखिएको थियो।
उनले भने, “सुनसरीबाट सुरु भएको घटना अहिले मधेशका विभिन्न जिल्लामा फैलिएको छ। तर सम्बन्धित जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले सामान्य समन्वयसमेत गर्नुभएको छैन। यही विषयमा हामीले सभापतिसमक्ष असन्तुष्टि राख्यौं।”
सांसदहरूले स्थानीय अवस्था बुझ्न, जनप्रतिनिधिसँग निरन्तर संवाद गर्न तथा संवेदनशील विषयमा सरकारको उपस्थितिलाई प्रभावकारी बनाउन गृहमन्त्रीले थप सक्रियता देखाउनुपर्ने धारणा समेत राखेका थिए।
उक्त भेटमा सभापति रवि लामिछानेले पछिल्लो घटनाक्रमप्रति आफू गम्भीर र संवेदनशील रहेको बताएका थिए। उनले मधेशमा सामाजिक सद्भाव र शान्ति कायम राख्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै परिस्थिति सामान्य बनाउन आफू स्वयं मधेश जाने तयारीमा रहेको संकेत दिएको छलफलमा सहभागी एक सांसदले जानकारी दिए।
रास्वपाभित्र मधेशको विकसित अवस्थालाई लिएर चासो बढिरहेका बेला स्थानीय जनप्रतिनिधिसँग समन्वय, संवाद र विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवाज पार्टीभित्रैबाट उठ्न थालेको देखिएको छ। अहिलेको परिस्थितिमा सरकार र सरोकारवाला सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रतिक्रिया दिनुहोस