२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

शुक्लाफाँटा नगरपालिकाले पाँचवर्षे शिक्षा योजना तर्जुमा सुरु


५१७५ पाठक संख्या
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकासलाई लक्ष्य बनाउँदै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ। नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा तथा स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो।

    समितिमा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई संयोजक नियुक्त गरिएको छ। ऐरको नेतृत्वमा तयार हुने योजनाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका चुनौती, आवश्यकता, पूर्वाधार, जनशक्ति, सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरका सूचकलाई समेटेर व्यावहारिक र परिणाममुखी शिक्षा खाका बनाउने लक्ष्य लिएको छ।

    समितिको सदस्यमा निजी विद्यालयतर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापकतर्फबाट पीताम्बर जोशी र धनसिंह महरा रहेका छन्। नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टलाई सदस्य–सचिव तोकिएको छ।

    संयोजक ऐरका अनुसार समितिले नगरका विद्यालयहरूको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती तथा अभिभावकको अपेक्षाबारे विस्तृत तथ्याङ्क संकलन गर्नेछ।

    उनका अनुसार सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटि–आधारित सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान तथा सुधार कार्यक्रम, साथै बाल विकासदेखि माध्यमिक तहसम्म आवश्यक पूर्वाधारको नक्शाङ्कन कार्य योजनामा समावेश गरिनेछ।

    “पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र स्पष्ट बनाउनेछ,” ऐरले भने, “शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकता दिँदै दीर्घकालीन, व्यावहारिक र प्रगतिमुखी योजना निर्माण गर्ने लक्ष्य छ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार