२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

ओली समूहमा असन्तुष्टि चुलिँदा कोशीका मन्त्री–सांसदले दिए बागी उम्मेदवारी


६२१५ पाठक संख्या
  • २०८२ पौष १, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक ।  नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै गर्दा अध्यक्ष केपी शर्मा ओली समूहभित्र असन्तुष्टि बढेको छ । सोही असन्तुष्टिका कारण कोशी प्रदेशका मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यसहित विभिन्न पदमा बागी उम्मेदवारी दिएका छन् ।

    ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नपरेका आधा दर्जनभन्दा बढी नेताले बागी उम्मेदवारी दर्ता गराएका हुन् । ओली पक्षको सूचीमा केन्द्रीय सदस्यका रूपमा समेटिएका संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिव र झापाका अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । यद्यपि, गौतमले अन्तिम नामावली प्रकाशित भएपछि आफू केन्द्रीय सदस्यको मात्र उम्मेदवार रहेको बताएका छन् ।

    ओली पक्षमै रहेका मोरङका लालबाबु पण्डितले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् । यस्तै, ओली पक्षको सूचीमा रहेका सुनसरीका भीमप्रसाद आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    ओली पक्षको सूचीमा नपरेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै, कोशी प्रदेशसभा प्रमुख सचेतक विदुर लिङ्थेप (संखुवासभा) ले पनि खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

    पूर्वमन्त्री एवं सांसद बुद्धिकुमार राजभण्डारी (सोलुखुम्बु) र मोरङका पर्शुराम बस्नेतले पनि खुला केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन् । सुनसरीकी प्रदेश सांसद निरादेवी खनाल आचार्यले महिलातर्फ भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । उनी एमाले नेता भीमप्रसाद आचार्यकी पत्नी हुन् । उनको नाम पनि ओली पक्षको सूचीमा छैन ।

    यसैगरी इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्रसुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले पनि बागी उम्मेदवारी दिएका छन् । यसअघि केन्द्रीय सदस्य रहेका उनीहरूलाई यसपटक ओली पक्षले सूचीमा समेटेको थिएन ।

    यसैबीच, ओली पक्षमै रहेर यसअघि केन्द्रीय सदस्य रहेका ताप्लेजुङका टंक आङ्बुहाङले सूचीमा नाम नपरेपछि उम्मेदवारी नै नदिएका छन् । उनी पार्टी विभाजनका बेला रामबहादुर थापा ‘बादल’सँगै एमालेमै रहेका थिए ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसके पनि समूहगत अन्तिम सूची भने अझै सार्वजनिक भइसकेको छैन । बागी उम्मेदवारी दिएका केही नेताको नाम अन्तिम सूचीमा समेटिन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । निर्वाचन आयोगका अनुसार प्राविधिक कारणले आज बिहान सुरु हुने भनिएको मतदान प्रक्रिया अपराह्नबाट सुरु हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार