काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने पाँच जना चालक पक्राउ परेका छन्।
अरनिको राजमार्ग अन्तर्गत बनेपा–१० जनागाल क्षेत्रमा सडक अनुशासन कायम गर्ने, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले चालकहरूको लागुऔषध सेवन (लापसे) परीक्षण गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कुल ३४ जना चालकको परीक्षण गर्दा पाँच जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। पक्राउ परेकामध्ये अधिकांश काठमाडौं–धुलिखेल रुटमा सञ्चालन हुने महानगर यातायात, मयूर यातायात तथा काभ्रे बस सेवा समितिका चालक रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाँजुले सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय अपराध भएको बताए। उनले सचेतनामूलक रूपमा लापसे परीक्षणलाई निरन्तरता दिइने पनि जानकारी दिए।
पक्राउ परेका चालकहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा गरिएको लापसे चेकमा शीर मेमोरियल अस्पताल बनेपाको समन्वय तथा सहकार्य रहेको थियो। यसअघि पनि जिल्लाका विभिन्न स्थानमा गरिएको यस्तै परीक्षणका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरू पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस