९ पुस, मुगु ।मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । अवस्था नियन्त्रणबाहिर जान सक्ने खतरा देखिएपछि स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।
स्थानीय युवा आशिष देवकोटा नेतृत्वमा गएको युवाहरूको समूहले मन्त्रीलाई बुझाएको मागपत्रमार्फत संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स तथा प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन आग्रह गरेका हुन् ।
युवाहरूका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर स्वास्थ्य पूर्वाधार र बढ्दो बिरामीको चापका कारण स्थिति अत्यन्तै चिन्ताजनक बनेको छ । हाल अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन् ।
लामो समयदेखि अस्पतालको एक्सरे मेसिन बिग्रिएको छ भने आवश्यक औषधि, मेडिकल उपकरण र अक्सिजनको गम्भीर अभाव रहेको स्थानीयको गुनासो छ । अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको कारण गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या भइरहेको बताइएको छ ।
प्रकोपकै बीच पछिल्लो १७ दिनभित्र राराछायानाथ नगरपालिका–१२ बाम गाउँमा मात्रै पाँच जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिकासमेत रहेका छन् । यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारबाट स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
युवाहरूले मागपत्रमा बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न तथा हालको ५० शय्या क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग गरेका छन् ।
२०६६ सालमा जाजरकोट केन्द्रित झाडापखाला तथा हैजाको महामारीको स्मरण गराउँदै युवाहरूले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
स्थानीयका अनुसार मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको छ । उनीहरूले ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस