भक्तपुर ।नेपाली काँग्रेसको वर्तमान राजनीतिक जटिलताबाट निकास निकाल्न विशेष महाधिवेशन अपरिहार्य रहेको निष्कर्षसहित भक्तपुरमा अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ।
भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति निर्माण र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। पार्टीभित्र देखिएको संगठनात्मक शिथिलता र नेतृत्वगत अन्योल अन्त्य गर्न विशेष महाधिवेशन नै प्रभावकारी माध्यम हुने भेलाको ठहर छ।
विशेष भेलामा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की र सुरेश श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु वानिया, सङ्गीता फुयाँल लगायत विभिन्न वडा समितिका सभापति, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर र प्रदेश कार्यसमितिका सदस्यहरू तथा वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भेलाले यही २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा नेताहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ। साथै भक्तपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक र समर्थकलाई सहभागी गराउन आवश्यक तयारी तीव्र पार्ने सहमति समेत भएको छ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस