२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

विदेशी मुद्रा साट्ने नाममा ५० लाख ठगी, काभ्रे प्रहरीले समात्यो आरोपी


१३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ श्रावण ११, सोमबार मा प्रकाशित १८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक। अमेरिकी डलर सस्तो मूल्यमा साटिदिने भन्दै सर्वसाधारणलाई झुक्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको प्रेस नोटअनुसार पक्राउ पर्नेमा सुनिल उप्रेती रहेका छन्। उनीमाथि विभिन्न व्यक्तिलाई अमेरिकी डलर उपलब्ध गराइदिने बहानामा रकम असुलेर ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उप्रेतीले धुलिखेल नगरपालिका–३ का एक व्यक्तिबाट अमेरिकी डलर साटिदिने भन्दै २५ लाख ३२ हजार ५७६ रुपैयाँ, बनेपा नगरपालिका–१० का अर्का व्यक्तिबाट १५ लाख ३० हजार रुपैयाँ तथा बनेपा नगरपालिका–७ का अर्का व्यक्तिबाट १० लाख रुपैयाँ गरी करिब ५० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले डलर साटिदिने आश्वासन दिएर रकम उठाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

    अनुसन्धानका क्रममा यस्तै प्रकृतिबाट अन्य व्यक्तिहरू पनि ठगिएको हुन सक्ने आशंका गरिएको भन्दै प्रहरीले उप्रेतीसँग आर्थिक कारोबार गरेका वा ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रहरीका अनुसार घटनामा प्रयोग भएका मोटरसाइकल, मोबाइल फोन, विभिन्न बैंकका चेकबुक तथा एटीएम कार्ड, नगद रकम र अन्य कागजातहरू समेत बरामद गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक कारोबार गर्दा अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, विदेशी मुद्रा कारोबार नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थामार्फत मात्र गर्न तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार