२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

पेट्रोल छर्केर आगो लगाएको युवकको काठमाडौं लैजाँदै गर्दा मृत्यु


२४१९ पाठक संख्या
  • २०८३ श्रावण ११, सोमबार मा प्रकाशित १८ घण्टा अघि
  • ११ साउन, धनगढी । धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मादाह गर्ने प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार आइतबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्‍याएका थिए।

    चिकित्सकका अनुसार चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेपछि उनलाई थप उपचारका लागि सुरुमा भेरी अस्पताल, नेपालगञ्ज पठाउने निर्णय गरिएको थियो। त्यसपछि आफन्तले उनलाई काठमाडौँ लैजाने तयारी गरेका थिए।

    तर उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान करिब ७ बजे धादिङ पुग्ने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    घटनाको कारण खुल्न बाँकी रहेको र आत्मादाहको प्रयास किन गरियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकका परिवारका सदस्य तथा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरी घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार