२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

समाजसेवी पदम घिसिङद्वारा देवीस्थान विद्यालयका विद्यार्थीलाई जर्सी सहयोग


४४९९ पाठक संख्या
  • २०८२ पौष २३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ दयागाउँमा अवस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग प्रदान गरिएको छ। दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाई शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विद्यालयलाई १५ सेट खेलकुद जर्सी सहयोग गरिएको हो।

    खानीखोला गाउँपालिका–२ निवासी समाजसेवी तथा युवा नेता एवं खानीखोला वाइसीएलका सहसचिव पदम घिसिङको आर्थिक सहयोगमा उक्त जर्सी वितरण कार्यक्रम सम्पन्न गरिएको हो। समाजसेवी घिसिङले ग्रामीण क्षेत्रका विद्यालयहरूमा खेलकुद सामग्रीको अभाव रहेकाले विद्यार्थीहरू खेलकुद गतिविधिमा सक्रिय हुन नसकेको उल्लेख गर्दै, खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, टिम भावना र नेतृत्व क्षमताको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

    उक्त सहयोग कार्यक्रमलाई सफल बनाउन नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सचिवालय सदस्य दैबलाल घिसिङ (अनुशील) ले समन्वयको भूमिका निर्वाह गर्नुभएको थियो। जर्सीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता विरेन्द्र लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

    जर्सी वितरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्य तथा महिला नेतृ सृर्जना थिङ, युवा नेता बुद्ध लामा, युवा नेता दीपक लामालगायत स्थानीय नेता, अभिभावक तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै समग्र शैक्षिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।

    विद्यालय व्यवस्थापन समितिले सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि शिक्षा र खेलकुद क्षेत्रलाई लक्षित गर्दै यस्ता सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ। स्थानीय तहबाट शिक्षा र खेलकुद क्षेत्रमा भइरहेका यस्ता सकारात्मक पहलहरूले विद्यार्थीहरूमा हौसला थप्नुका साथै प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु