२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले पछिल्लो राजनीतिक घटनाक्रमले आफू अत्यन्तै मर्माहित भएको बताएका छन्। गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सहमति यसरी चाँडै भत्किन सक्छ भन्ने कुरा आफूले कहिल्यै नसोचेको उनको भनाइ छ।
‘म आज अत्यन्तै मर्माहित भएको छु। यस्तो अवस्था आउँछ भन्ने लागेको थिएन,’ घिसिङले भने, ‘यी १२ दिन मेरा लागि ठूलो बिलखबन्दमा बिते। अगाडि बढौँ भने उहाँहरू अघि बढ्न नदिने, पछि हटौँ भने आम नेपाली र जेन–जी भाइबहिनीहरूको सपनालाई धोका हुने अवस्था थियो।’
उनले सहमतिमा भएका बुँदाहरू रास्वपाले कार्यान्वयन गर्न नमानेको आरोप पनि लगाए। पुस १४ गते भएको सहमति करिब १२ दिनसम्म विभिन्न चरणमा छलफल भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
‘त्यो सहमति लिखित मात्र होइन, लिखितमा नसमेटिएका धेरै विषयहरू पनि थिए,’ घिसिङले भने, ‘एकीकरण प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे हाम्रो ठूलो चासो थियो। छिटो कार्यान्वयन होस् भन्ने हाम्रो माग थियो, तर त्यसतर्फ गम्भीरता देखिएन।’
यस क्रममा उनले उज्यालो नेपाल पार्टीलाई कठिन परिस्थितिमा नेतृत्व गरेका अनुपकुमार उपाध्यायप्रति धन्यवाद व्यक्त गर्दै विगत केही समय पार्टीका लागि अत्यन्तै पीडादायी भएको बताए।
‘करिब दुई महिना पार्टीले असाध्यै कठिन समय भोग्नुपर्यो,’ उनले भने, ‘त्यस अवस्थामा नेतृत्व सम्हाल्नु भएका अनुपकुमार उपाध्यायलाई धन्यवाद दिन चाहन्छु।’
घिसिङका अनुसार पछिल्ला १२ दिनमा धेरैपटक, धेरै चरणमा छलफल भए पनि आपसी सहमति कायम हुन नसक्दा पार्टीलाई अत्यन्तै हिनताबोधका साथ अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस