२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

जनमुखी नेतृत्वको दाबी गर्दै काभ्रे–२ मा बसुन्धरा हुमागाई


१२२७३ पाठक संख्या
  • २०८२ माघ ९, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ। लामो समयदेखि जनमुखी राजनीति र समाजवादी विचारधारामा सक्रिय उहाँले काभ्रेको समृद्धिलाई आफ्नो राजनीतिक यात्राको केन्द्रीय लक्ष्य बनाउँदै आउनु भएको छ।

    वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट जन्मिनु भएका हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी सोचबाट प्रेरित हुनुहुन्थ्यो। यही चेतनाले उहाँलाई विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न गरायो।

    २६ वर्षकै उमेरमा गाविस अध्यक्ष निर्वाचित हुँदै नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएका हुमागाई स्थानीय तहबाटै विकास र सुशासनको अभ्यासमा लाग्नुभयो। शिक्षण पेशामा समेत केही समय संलग्न रहनु भएका उहाँ पछि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा सफल कार्यसम्पादन गर्ने नेताका रूपमा चिनिनु भयो।

    १३ महिनाको मन्त्री कार्यकालमा उहाँले कृषि तथा पशुपन्छी क्षेत्रको संस्थागत सुधारमा उल्लेखनीय पहल गर्नुभयो। सो अवधिमा कृषि तथा पशुपन्छीसम्बन्धी कार्यविधि ८ बाट बढाएर १४ वटा पुर्‍याइनुका साथै बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको थियो। कृषि ऐन तथा पोलिसी विकास बोर्ड स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगे पनि २०७९ सालमा नयाँ संसद गठन भएसँगै ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ।

    त्यसैगरी प्रदेशभित्र रासायनिक मल उत्पादन कारखानाको सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत सहुलियत ऋण, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा कार्यक्रम र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको सुरुवात पनि उहाँकै कार्यकालमा भएको थियो।

    भौतिक पूर्वाधार विकासतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८ देखि १० वटा ठूला सडक तथा पक्की पुल निर्माण सम्पन्न भएका थिए। साथै सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयनमा आएका छन्। काभ्रेका १३ वटै पालिकामा विकास आयोजनाका लागि डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका योजना कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनु भयो।

    उत्पादनको गुणस्तर वृद्धि र प्रभावकारी बजारीकरणमा ध्यान दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी दिन सकिने उहाँको दाबी छ। कृषि, उद्योग र बजारबीच समन्वय कायम गर्न सके काभ्रे आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्न सक्ने उहाँको धारणा छ।

    काभ्रेको विकासमा देखिएका चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा योजनाबद्ध विकास प्रभावित भएको उल्लेख गर्नुभयो। कार्यविभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै तीनै तहका सरकारबीच सहकार्य, समन्वय र पारदर्शिता अपरिहार्य रहेको उहाँले बताउनुभयो।

    समग्रमा समाजवादी व्यवस्थातर्फको स्पष्ट यात्राबिना मुलुकको दिगो रूपान्तरण सम्भव नहुने उहाँको निष्कर्ष छ। उहाँ भन्नुहुन्छ, “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म न्याय र समानताले पूर्ण अर्थ पाउँदैन। समाजवादी यात्रामार्फत् नै देशलाई समृद्धि र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”

    हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार