२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

पाँचखालमा ३२ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, सयौँ नागरिक लाभान्वित


५८५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ माघ १५, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ दुलालथोकमा अवस्थित आधारभूत अस्पतालमा ३२ जना मोतियाबिन्दु पीडित बिरामीको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा सयौँ स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

    पाँचखाल नगरपालिका वडा नं १, २, ३, ९ र ११ मा लायन्स क्लब अफ पाँचखालको पहलमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा ४८० जनाको आँखा परीक्षण गरिएकोमा ११० जनामा मोतियाबिन्दु रोग पहिचान भएको दमन अधिकारीले जानकारी दिनुभयो ।

    त्यसैगरी, वडा नं ६ दुलालथोकस्थित आधारभूत अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको अर्को निःशुल्क आँखा शिविरमा १३९ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १३ जनामा मोतियाबिन्दु रोग देखिएको आयोजकले जनाएको छ ।

    पाँचखाल नगरपालिकाभित्र विभिन्न समय र स्थानमा सञ्चालन गरिएका आँखा शिविरबाट कुल १२३ जनामा मोतियाबिन्दु शल्यक्रिया आवश्यक देखिएको थियो । तीमध्ये हालसम्म ३२ जनाले निःशुल्क शल्यक्रिया सेवा लिएका छन् । बाँकीमध्ये केही बिरामीले पारिवारिक सल्लाहअनुसार अन्यत्र उपचार गराएको र केहीले आर्थिक, सामाजिक तथा व्यक्तिगत कारणले उपचार नगरेको पाइएको छ । शल्यक्रियाका लागि सूचना गराइए पनि सबै बिरामी उपस्थित नभएको आयोजक पक्षले जनाएको छ ।

    उक्त निःशुल्क आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम पाँचखाल नगरपालिका स्वास्थ्य शाखा, बी.पी. कोइराला लायन्स अध्ययन केन्द्र महाराजगञ्ज काठमाडौं तथा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं मनहरा, पाँचखाल (प्रस्तावित), लायन्स क्लब अफ काठमाडौं लालीगुराँस, हेल्पिङ हाट्र्स, आकर्षण, आभूषण, गोकर्णेश्वर, महांकाल, थली, दोलखा, मेल्भन जोन्स तथा गुप्ती गणेशको सक्रिय सहभागिता रहेको थियो ।

    मोतियाबिन्दु शल्यक्रियाका लागि बी.पी. कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, महाराजगञ्ज काठमाडौंले प्राविधिक तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । आधुनिक उपकरण र दक्ष चिकित्सक टोलीको सहयोगमा शल्यक्रिया सुरक्षित र सफलतापूर्वक सम्पन्न भएको आयोजकले बताएका छन् ।

    निःशुल्क रूपमा सञ्चालन गरिएको यस कार्यक्रमबाट विशेषगरी गरिबीको रेखामुनि रहेका, वृद्धवृद्धा तथा विपन्न वर्गका नागरिकलाई ठूलो राहत मिलेको छ । स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै आयोजक संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार