२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

भक्रमदेवी माविको वार्षिकोत्सवमा प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा जोड


१३८३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ फागुन ३०, शनिबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–२ स्थित भक्रमदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा इतिहास शिरोमणि बाबुराम जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

    कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विगत दुई दशकअघिसम्म विद्यालयहरूको भौतिक पूर्वाधार कमजोर रहे पनि पछिल्लो समय पाँचखाललगायत विभिन्न स्थानमा विद्यालयहरूको भौतिक संरचना उल्लेखनीय रूपमा सुधार भएको बताउनुभयो।

    सामुदायिक विद्यालयले समयको मागअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्नु अहिलेको प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो। समाजको विकासको स्तर त्यहाँको शिक्षा र स्वास्थ्य सेवाको अवस्थाले मापन हुने उल्लेख गर्दै उहाँले सक्षम र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो।

    उहाँले शिक्षा क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय परिवेश परिवर्तन भएकोले शिक्षा प्रणालीमा सुधारको अपेक्षा गरिएको धारणा राख्नुभयो। प्रदेश सरकारको बजेट र सीमाका कारण सबै क्षेत्रमा एकैपटक विकास सम्भव नभए पनि आवश्यकताका आधारमा विद्यालयलाई सहयोग गरिने बताउनुभयो।

    कार्यक्रममा विशेष अतिथि पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोइरालाले विद्यालयमा सिकाइ उपलब्धि, अभिभावकको अपेक्षा र विद्यार्थीको मूल्याङ्कनलाई सूक्ष्म रूपमा अध्ययन गर्दै विद्यालय समायोजनको कार्य अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा पाँचखाल क्षेत्रमा ३८ वटा विद्यालय सञ्चालनमा रहेकामा समायोजनपछि हाल २८ वटा विद्यालय मात्र रहेका छन्।

    पाँचखाल क्षेत्रमा बहुशैक्षिक प्रविधिमा आधारित ‘वृहत विद्यालय’ स्थापना गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो। उक्त विद्यालयमा कम्तीमा १ हजार ५ सय विद्यार्थी अध्ययन गर्ने लक्ष्य राखिएको छ। नेपालमा जन्मदर घट्दै गएको कारण विद्यार्थी संख्या घट्नु स्वाभाविक भएको उल्लेख गर्दै विद्यालय आउजाउ सहज बनाउन विद्यालय बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौलागाईँको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका सदस्य चण्डिका रम्तेल, पाँचखाल नगरपालिका–२ का वडा अध्यक्ष रामेश्वर दाहाल, विद्यालयका प्रधानाध्यापक शशि विक्रम के.सी., विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रविन्द्र सिपखान, पूर्व सदस्य हरिराम खतिवडा, समाजसेवी नारायण ढकाल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिँदै उपस्थित अतिथि र अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै अक्षयकोष दाताहरूलाई सम्मान, विभिन्न खेलकुद प्रतियोगिताका नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण तथा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौलागाईँले विद्यालयमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि सुदृढ बनाउने उद्देश्यले आफ्नै व्यक्तिगत खर्चमा संगीत शिक्षकको व्यवस्था गर्ने घोषणा गर्नुभयो। उहाँले गत वर्ष विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडाको व्यवस्था पनि गर्नुभएको थियो।

    यस अवसरमा स्थानीय दानवीर लोकनाथ सापकोटाले आफ्नी स्वर्गीय धर्मपत्नी तुलसा सापकोटाको पुण्यतिथिको अवसरमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा प्रतिभा पुरस्कार प्रदान गर्ने उद्देश्यले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। साथै कार्यक्रममा सहभागी विद्यार्थीहरूको खाजाका लागि २० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो।

    त्यसैगरी विद्यालयका पूर्व शिक्षक स्वर्गीय केदारनाथ सापकोटाको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार