२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

आलुको मूल्य घट्दा काभ्रेका कृषकलाई ६३ करोडभन्दा बढी घाटा हुने अनुमान


१०६६१ पाठक संख्या
  • २०८२ चैत्र १, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाका कृषकहरूको प्रमुख नगदे बालीका रूपमा चिनिने आलु भित्र्याउने समय चलिरहेको छ। तर यस वर्ष उत्पादन भएको आलुले उचित बजार नपाउँदा कृषकहरू गम्भीर आर्थिक समस्यामा परेका छन्। उत्पादन राम्रो भए पनि मूल्य अत्यन्तै घटेपछि किसानहरू लागतसमेत उठाउन नसक्ने अवस्थासम्म पुगेका छन्।

    विगतका वर्षहरूमा अन्य खेतीको तुलनामा राम्रो आम्दानी हुने भएकाले कृषकहरूले आलु खेतीलाई प्राथमिकता दिने गरेका छन्। राम्रो उत्पादन हुँदा आलुबाट हुने आम्दानीले परिवारको वार्षिक खर्च धान्नसमेत सहयोग पुग्ने भएकाले धेरै किसानहरू यसतर्फ आकर्षित भएका थिए। कृषकहरू दशै , तिहारजस्ता ठूला चाडपर्वको खर्च कटाएर तथा ऋणसमेत लिएर आलु खेतीमा लगानी गर्ने गरेका छन्।

    तर यस वर्ष बजार मूल्य अत्यन्तै घटेपछि किसानहरूको लगानी नै जोखिममा परेको छ। आलु खेतीमा अन्य बालीको तुलनामा लागत खर्च बढी लाग्ने गर्दछ। जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च जोड्दा कृषकको लागत प्रतिकिलो करिब २० रुपैयाँसम्म पुग्ने गरेको किसानहरू बताउँछन्।

    हाल काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिका लगायतका बेसी भूभागहरूमा आलु खन्ने मुख्य सिजन चलिरहेको छ। विगतका वर्षहरूमा यही समयमा प्रतिकिलो २८ देखि ३५ रुपैयाँसम्ममा आलु बिक्री हुने गरेको थियो। तर यस वर्ष किसानहरू १२ देखि १५ रुपैयाँ प्रतिकिलोमै आलु बेच्न बाध्य भएका छन्।

    मूल्य बढ्ने आशामा केही कृषकहरूले आलु खन्न ढिलाइ गर्दा अर्को समस्या पनि देखिएको छ। धेरै समयसम्म खेतमै राख्दा आलु कुहिने जोखिम बढ्ने र त्यसपछि लगाइने दोस्रो बाली रोप्न ढिलाइ हुने चिन्ता किसानहरूमा बढेको छ। ठूलो लगानी गरेर उत्पादन गरिएको आलु खेतमै थन्किँदा कृषकहरू थप निराश बनेका छन्।

    किसानहरू भन्छन्, “आलु खनौँ भने बिक्री हुँदैन, नखनौँ भने कुहिन्छ।” व्यापारीलाई घाटा खाएर प्रतिकिलो ७–८ रुपैयाँसम्म घाटामा आलु बेच्दा पनि रकम समयमै नपाइने अवस्था रहेको उनीहरूको गुनासो छ। कतिपय किसानले भने एक महिनासम्म पनि भुक्तानी नपाएको बताएका छन्।

    पाँचखाल कृषि शाखा प्रमुख हेमन्त पौडेलको अनुसार पाँचखाल नगर क्षेत्रमा मात्र करिब ७० हजार रोपनी क्षेत्रफलमा आलु खेती हुने गरेको छ। यहाँबाट वार्षिक करिब ९१ हजार मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ। तर यस वर्ष बजार मूल्य घटेका कारण कृषकहरूले कुल लागत मूल्यको तुलनामा करिब ६३ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गुमाउने आँकलन गरिएको छ।

    पाँचखालका अगुवा कृषक नवीन अर्यालका अनुसार कृषकहरूको समस्या समाधान गर्न तीनै तहका सरकारबाट प्रभावकारी पहल हुन सकेको छैन।
    उनले भने, “हामीले सस्तोमा बेचेको आलु उपभोक्ताले पनि सस्तोमा पाउन पाए मन बुझ्थ्यो। तर बीचौलियाले अत्यधिक नाफा कमाउँछन्। कृषकले घाटा खानुपर्ने र उपभोक्ताले महँगो किन्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ।”

    उनका अनुसार सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, सरकारबाट बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न सके किसानहरूको समस्या धेरै हदसम्म समाधान हुन सक्छ।

    कृषकहरूले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण, चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण तथा बजार व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्। अन्यथा कृषकहरू आलु खेतीबाट निरुत्साहित हुने र आगामी वर्षहरूमा उत्पादन घट्न सक्ने चेतावनीसमेत दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार